‘भारतीय प्रहरीले झुक्याए‘

44

काठमाडौं, कात्तिक १७

मितेरी पुलमा पुगेको प्रहरीले आन्दोलनकारीलाई धपाएपछि वीरगन्जबाट दुई सयभन्दा बढी भारतीय खाली गाडी रक्सौल पठाए पनि रक्सौलमा फसेका नेपालका मालवाहक गाडी भने वीरगन्ज छिर्न सकेनन् । पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठका अनुसार वीरगन्जमा ४० दिनदेखि अलपत्र परेका दुई सय १९ वटा भारतीय खाली ट्रक सोमबार बिहान भारतीय प्रहरीको समन्वयमा रक्सौल पठाइए पनि रक्सौलमा रोकिएका नेपाली मालवाहक गाडी भारतीय पक्षले नेपालतर्फ नपठाएको हो । भारतीय गाडी नेपाल प्रवेश गर्ने क्रम चलिरहँदा भारतीय प्रहरी र रक्सौल कस्टमका अधिकारीले रक्सौलमा रोकिएका नेपालका मालवाहक गाडी पनि नेपाल पठाइदिने बताएका थिए ।

भारतीय ट्रक उता पठाउनुअघि मितेरी पुलमा खटिएका रक्सौल कस्टमका सुपरिटेन्डेन्ट अरुणकुमार रजतले भनेका थिए, ‘नेपालमा अड्किएका भारतीय गाडी सबै रक्सौल छिरेपछि हामीले पनि रक्सौलमा रोकिएका नेपालका मालवाहक गाडी नेपाल पठाइदिन्छौं ।’ तर वीरगन्जमा रोकिएका भारतीय गाडी सबै रक्सौल छिरेपछि भारतीय प्रहरी र रक्सौल कस्टमका अधिकारी मितेरी पुलबाट अचानक गायब भएका समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । सीमामा सोमबार खटिएका नेपाल प्रहरीका एक अधिकारीले भने, ‘नेपालमा रोकिएका भारतीय गाडी रक्सौल छिराएलगत्तै रक्सौलमा अलपत्र परेका नेपालका गाडी वीरगन्ज छिराउने मौखिक सहमति थियो । भारतीय सुरक्षाकर्मीले धोका दिए । भारतीय गाडी रक्सौल छिरेपछि उता रोकिएका गाडी ल्याउन उनीहरूले चासो देखाएनन् । भारतीय प्रहरीले झुक्याए ।’

Womui
Womui