उपराष्ट्रपति निर्वाचनमा ५४६ सांसदद्वारा मतदान, गणना जारी

37

काठमाडौं, कात्तिक १४–
उपराष्ट्रपतिको निर्वाचनमा कुल ५ सय ४६ सांसदले मतदान गरेका छन् । संसद सचिवालयले दिएको जानकारीअनुसार तत्काल बहाल रहेको सांसद संख्या ५ सय ९६ छ । यसअघि राष्ट्रपतिको निर्वाचनमा कुल ५ सय ९७ सांसद बाहल थिए । विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उपराष्ट्रपति निर्वाचनमा एक सांसद संख्या कम भएको हो । यस अघिको राष्ट्रपति निर्वाचनमा कुल ५ सय ४९ सांसदले मतदान गरेको भए पनि उपराष्ट्रपति निर्वाचनमा ३ जना कम सांसदले मतदान गरेका हुन् ।

विद्यादेवी भण्डारी राष्ट्रपति भएको, एमाले सांसद प्रभादेवी बज्राचार्य विदेश भ्रमणमा रहेको र राष्ट्रपति निर्वाचनमा पार्टी निर्णय विपरीत मतदान गरेकी सद्भावना पार्टीकातर्फबाट सांसद माधवी रानी साहले उपराष्ट्रपति निर्वाचनमा भाग नलिएपछि ३ सांसद कम भएका हुन् । संयुक्त मधेसी मोर्चा आवद्ध सांसदले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएपछि त्यसयताका अन्य निर्वाचनमा भाग लिएका छैनन् । उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट एकीकृत नेकपा माओवादीका उम्मेद्वार नन्दकिशोर पुन र नेपाली कांग्रेसको तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धामा छन् । निर्वाचनको मत गणना अहिले जारी छ । स्रोतका अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवार पुन अगाडी छन् । मत गणना सम्पन्न भएपछि संसद बैठकमा ५ बजे घोषणा गर्ने कार्यतालिका रहेको छ ।

Womui
Womui