भारतको नाकाबन्दीबारे सांसदमा आक्रोश

85

काठमाडौं, असोज २३–
विभिन्न राजनीतिक दलका सांसदले भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरोध गर्दै तत्काल विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । उनीहरुले चीनसँग जोडिएका नाका पनि तत्काल खुलाउने पहल गर्न सुझाव दिएका हुन् । व्यवस्थापिका–संसदको शुक्रबार बसेको बैठकमा बोल्दै उनीहरुले भारतले दुई देशबीचको सम्झौता र अन्तराष्ट्रिय कानुनसमेत उल्लंघन गरेको बताएका थिए । कांग्रेसका भरत साहले भारतीय पक्षबाट नेपाली भूमिमा ढुंगा हानेर नाकाबन्दीलाई सहयोग पुर्याउन केही राजनीतिक दल लागिपरेको बताए । ’भारतीय पक्षबाट भैरहवा नाकामा ढुंगा हानिएको छ,’ उनले भने, ’हामीले स्पष्टसँग भन्न सक्नुपर्छ– भारतले नाकाबन्दी लगाएकै हो । अहिले भारतले नेपालमा खपत हुने १० प्रतिशत सामग्री मात्रै पठाएको छ । सबै पार्टी मिलेर डटेर मुकाबिला गर्नुपर्छ । पार्टी कार्यकर्ता परिचालन गर्नुपर्छ। सर्वसाधारणले दुःख नपाउने कुरामा गम्भीर हुनुपर्छ ।’
images
उनले चीनतिरका नाका खुला गर्न सरकारसँग आग्रह गरे। ’उत्तरका नाका खुल्न सकेका छैनन,’ साहले भने, ’किन आजसम्म यी नाका खोल्न सकिएन ? चाँडै खुलाउन लाग्नुपर्छ । आजसम्म भारतले तीनपटक नाकाबन्द गर्यो । २०२७ सालमा, २०४५ मा चीनबाट हतियार किन्दा र अहिले संविधान बनाउँदा भारतले नाकाबन्दी लगाएको हो ।’ उनले सरकार कठिन अवस्थामा रहेकाले अन्तराष्ट्रिय समुदायलाई पनि जानकारी गराउनुपर्ने धारणा राखे । नेकपा एमालेका सांसद भीम रावलले संविधानसभाबाट बनेको संविधानमा अन्तर्रा्ष्ट्रिय नीति पनि तय गरेको उल्लेख गरे । ’यस्तो नाकाबन्दी लगाउन पाइँदैन,’ उनले भने, ’०२७, ०४५ र अहिले भारतले नाकाबन्दी लगाएको छ। अन्तर्रा्ष्ट्रियस्तरका सम्झौता कार्यान्वयनका लागि कसैले किन बोल्न सकेका छैनन्? अन्तर्रा्ष्ट्रिय सन्धि–सम्झौता र बडापत्रविपरीत अघोषित नाकाबन्दी संसदले जानकारीमा लिनुपर्छ ।’
रावलले केही राजनीतिक दलका नेता र विश्लेषकले आफ्नो घर बलियो बनाउन सुझाव दिएको उल्लेख गर्दै भने, ’केही, कसैले आफ्नो घर ठिक राख भन्ने कुरा पनि सुनियो, हाम्रो घर ठिक पारेको छ कि छैन भनेर कसैले हेरेका आधारमा पँधेरामा पानी भर्न दिन्न भनेर हुन्छ?’ उनले संसदले विशेष प्रस्ताव पारित गरी आवश्यक ठाउँबाट आवश्यक सामग्री पूर्ति गरेर अन्तराष्ट्रिय जगतलाई जानकारी गराउनुपर्ने बताए । एमाओवादीका अग्नि सापकोटाले नेपालको समस्यालाई अन्तर्रा्ष्ट्रिय जगतले हेरिराखेको बताउँदै महासभामा पनि नेपालका प्रतिनिधिले नाकाबन्दीबारे केही जानकारी नगराएको धारणा राखे । ’संविधान निर्माण गरेर हामीले महान् काम गरेका थियौं,’ उनले भने, ’स्वाभिमानमा काम गरेवापत सजाय भोग्नुपरेको छ ।’ उनले आक्रान्त जनताले पनि आफूहरु दुख पाउन तयार रहेकाले नाजायज सम्झौता नगर्न सुझाव दिएका बेला खुट्टा नकमाउन सरकारसँग आग्रह गरेको नागरिकमा खबर छ ।

Womui
Womui