नाकाबन्दीबाट भारतीय नागरिक असन्तुष्ट

51

नेपालगन्ज, असोज ११–
रुपैडिहाका छोटु मित्तल तनाबमा छन् । उनको तनाब सीमापारि नेपालीले भोगेभन्दा कम छैन । नागरिक प्रतिनिधि शनिबार बिहान १० बजे रुपैडिहास्थित उनको नुनपसलमा पुग्दा बोहनी (बिक्री सुरु) भएको थिएन । ‘उता (नेपाल)बाट ग्राहक नै आउँदैनन, केहीगरी आएकाहरुले पनि एसएसबीले बोर्डरबाट सामान लिन दिँदैन भनेर किन्दैनन,’ उनले भने, ‘केही दिनसम्म यस्तै भए त भोकै मरिएलाजस्तो छ ।’ मधेसी मार्चाले द्विदेशीय यातायात आवागमन प्रभावित हुने गरी सीमाक्षेत्रमा प्रदर्शन गर्नु र भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै कडा सुरक्षा रणनीति अवलम्बन गर्नुले छोटुजस्ता भारतीय व्यवसायीको पेट भोकले साप्रिने अवस्था निम्तिएको छ। सीमावर्ती सहर रुपैडिहाका करिब ९० प्रतिशत उपभोक्ता नेपाली हुनुले यो अवस्था आएको उनीहरु बताउँछन् । छोटुकै भनाइमा उनको पसलमा दुईरतीन दिनयता व्यापार झन्डै शून्यमा झरेको छ । दैनिक १० बोरासम्म नुन बिक्री गर्दै आएका उनी शनिबार नागरिक प्रतिनिधि पसलमा पुग्दा निराश देखिन्थे ।

नेपाली ग्राहकको प्रतिक्षामा बसेका रुपैडिहाका व्यवसायी ।
नेपाली ग्राहकको प्रतिक्षामा बसेका रुपैडिहाका व्यवसायी ।

पूजा साडी सेन्टरका अमान मित्तलको पीडा झन् सारो छ । दैनिक सरदर ६० हजार रुपैयाँको सामान बिक्री गर्ने उनकोमा अहिले पाँच हजार रुपैयाँको सामान पनि बिक्री हुँदैन । शनिबारकै दिन करिब तीन लाख रुपैयाँको कुर्ता–सलवार खरिद गर्न उनको पसलमा पुगेका नेपाली फेन्सी व्यवसायीद्वय रिमा लामा र कमला रावत बुझाइसकेको पैसा फिर्ता लगेर नेपाल फर्किए । ‘यी हेर्नुहोस् हाम्रो अवस्था यस्तो छ,’ उनले भने, ‘हाम्रै सरकारले नाकामा कडाइ गरेपछि हातमा आइसकेको व्यापार फुत्कियो ।’
काठमाडौंबाट सामान लिन रुपैडिहा पुगेकी रिमाले नाकामा भएको अवरोधकै कारण सामान लिन नपाएको बताइन् । अब दसैंको लागि चिनियाँ बजार खासाबाट सामान ल्याउने उनको योजना छ ।’ कुर्ता–सलवार र सारी यहाँ राम्रो पाइन्छ भनेर आएका थियौँ,’ उनले भनिन, ’यस्तो समस्या भएपछि उतै (खासा)बाट लिनुपर्ला ।’ सामान लोड गर्न बुझाइसकेको पैसा फिर्ता लिएको उनले बताइन् । भारतीय व्यापारीहरुको साझा संस्था राष्ट्रिय व्यापार मण्डलका अनुसार रुपैडिहामा मात्र सानाठूला गरेर करिब हजार पसल छन् । ती पसलमा दैनिक सरदर एक करोड भारतीय रुपैयाँ बराबरको कारोबार हुन्छ । ‘हाम्रो व्यापारका ९० प्रतिशत ग्राहक नेपाली दाजुभाइ हुन्,’ मण्डलका रुपैडिहा अध्यक्ष विजय कुमारले भने, ‘हाम्रै सरकारका कारण अहिले पसलमा माखा धपाएर बस्नु परेको छ ।’
यो अवस्था आउनुमा उनी भारतको केन्द्र सरकारलाई दोष दिन्छन् । उताको आन्दोलनलाई कारण देखाएर सीमामा अनावश्यक कडाइ गर्दा नेपाली उपभोक्ताहरु आतंकित भएका उनको भनाइ छ । ‘हामी राजनीतिका ठूलठूला कुरा जान्दैनौँ,’ उनले भने, ‘हाम्रो पसल सुनसान हुने अवस्था आउनुमा हाम्रै केन्द्र सरकारको हात छ ।’ रुपैडिहाका जनताको केन्द्रसम्म पहुँच नभएकाले आफ्नो पीडा दिल्लीसम्म नपुगेको समेत उनले बताएको आजको नागरिकमा खबर छ ।

Womui
Womui