भेरी अस्पतालका एक डाक्टर ड्युटी गर्छन निजीमा तलब लिन्छन् भेरीको !

64

नेपालगन्ज– नेपालगन्जका एक वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टरले आफ्नै निजी अस्पतालमा समय दिने र तलब चाहिँ सरकारी अस्पतालको लिने गरेको तथ्य बाहिर आएको छ । बाँकेको नेपालगन्जमा अवस्थित भेरी अञ्चल अस्पतालका डा. सुरेश कुमार नागले पसाल्हामु मार्गमा रहेको बैष्णवी अस्पतालमा अधिकांश समय बिताउँछन् भने महिनामा १/२ पटक भेरी अस्पतालमा पुगेर महिनाभरीको हाजिरी एकैपटकमा गर्ने गरेको कुरा सार्वजनिक भएको हो ।

डा. नागलाई उक्त क्रियाकलापका नगर्न भेरी अस्पताल विकास समितिले बारम्बार सुध्रिन अनुरोध गर्दा समेत अटेर गरेको पाइएपछि आवश्यक कारवाहीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरिएको थियो । समितिको बैठकले २०७८ साउन २२ गते कारबाहीका लागि सिफारिस पठाए पनि मन्त्रालयले बेवास्ता गरेको भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । सदस्य श्रेष्ठले लगातार अनुपस्थित रहेर ड्युटी नगरेका डा. नागले यही असार २० गते बलजफ्ती अस्पताल प्रशासनमा घुसेर असार २९ गतेसम्मको अग्रीम हाजिरी गरेको समेत खुलासा गरेका छन् ।

श्रेष्ठका अनुसार डा. नागले अग्रिम हाजिरी गरी आफ्नो उत्तरदायित्व र कर्तव्य बिमुख भयको पाइएको भन्दै समितिले मंगलबार पुनः कारबाहीका लागि जिल्ला प्रशासनमा बाँके मार्फत् मन्त्रालयमा सिफारिस गरेको छ ।

वरिष्ठ डाक्टरहरुनै अटेर गर्ने र आफ्ना निजी अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधारणले सास्ती खेप्नु परेको श्रेष्ठले बताए । उनले राज्यको सेवासुबिधा लिएर गैह्र जिम्मेवार काम गर्नु गलत भएको बताउँदै अटेरी गर्ने जोकोही कर्मचारीहरुलाई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरे ।

अस्पतालमा ड्युटी नगरेर निजी अस्पतालमा समय बिताउने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेको भेरी अस्पताल विकास समितिले आरोप लगाएको छ । ड्युटी गर्न समयमा नआउने, काममा लापरबाही गर्ने र निजी अस्पतालमै समय बिताउने डा. नागलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेकोसमेत समितिले आरोप लगाएको छ ।

Womui
Womui