ट्रकले किच्दा ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु

141

नेपालगन्ज– बाँकेको कोहलपुरमा गएराति ट्रकले किच्दा ड्युटीमा रहेकी एक महिला प्रहरीको ज्यान गएको छ । कोहलपुर नगरपालिका ११ चौराहामा गएराती अन्दाजी १० बजेको समयमा ड्युटीमा रहेकी महिला प्रहरी कबिता बिसी (बुढा क्षेत्री) लाई ट्रकले किच्दा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

शम्शेरगन्जतर्फबाट नेपालगन्ज आउँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक चौराहामा ट्रनिङ गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा ट्रकको पछाडीको ढालाले सडकको किनारामा रहेकी ती महिला प्रहरीलाई किच्दा उनको ज्यान गएको खनालले बताए । ड्युटीमासँगै रहेकी अर्की महिला हवल्दार बासमती चौधरी भने भागेर ज्यान जोगाएको उनले जानकारी दिए । उनीहरु दुवैजना इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत रहेको डिएसपी खनालले बताए ।

३६ वर्षीया मृतक महिला प्रहरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ७, बर्दिया माइती भई प्युठान नगरपालिका वडा नम्बर २ चितिखोला प्युठान घर भएको कोहलपुर प्रहरीले बताएको छ । उक्त ट्रक र सवारी चालक अहिले कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रण लिएको प्रहरीले बताएको छ ।

Womui
Womui