क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँको सुविधा

46

नेपालगन्ज– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउने बिरामीले दुई लाख रुपैयाँसम्मको सुविधा पाउने भएका छन् । लुम्बिनी प्रदेश सरकारले क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्मको उपलब्ध गराउने भएको हो । जसका लागि क्यान्सर अस्पताल खजुरालाई लुम्बिनी सरकारले सूचीकृत समेत गरेको छ ।

हालै लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले क्यान्सर अस्पताल खजुरालाई विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत गरेपछि क्यान्सर अस्पतालमा उपचार गराउने क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्म सुविधा दिइने भएको हो ।

यो सुविधा लुम्बिनी प्रदेशमा स्थायी घर भएका बिरामीले मात्र पाउने छन् । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य निर्देशक डाक्टर विनोद गिरीका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा फागुन १ देखि विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत भएको हो ।

क्यान्सर अस्पताल सूचीकृत भएपछि लुम्बिनी प्रदेशका क्यान्सर रोगका बिरामीहरुले यो सुविधाबाट लाभ लिनसक्ने भन्दै विरामीको केही आर्थिक जटिलता कम हुने क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्ण आचार्यले बताए । संघीय सरकारले एक लाख रुपैयाँ दिँदै आएको छ । स्थानीय तह र अस्पतालको सिफारिसमा विरामीले एक लाख रुपैयाँ पाउँदै आएका छन् ।

Womui
Womui