भारतीय विशेष दूतले आजैबाट भेटघाट थाल्ने

35

काठमाडौं, असोज १–
असन्तुष्ट दललाई सहमतिमा लिएर संविधान जारी गर्न दबाब दिँदै आएको भारतले आज राजनीतिक छलफलका लागि विशेष दूत पठाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव एस.जयशंकरलाई आफ्नो विशेष दूतका रूपमा काठमाडौं पठाउन लागेका हुन् । प्रमुख राजनीतिक दलले असोज ३ गते नयाँ संविधान जारी गर्ने सम्पूर्ण तयारी गरेपछि भारतले विशेष दूत पठाउन लागेको हो । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा विदेश सचिव एस. जयशंकर शुक्रबार बिहान काठमाडौं आउँदै हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने ‘उहाँ शनिबार स्वदेश फर्कनुहुन्छ ।’
पोखरेलका अनुसार हालसम्म भारतीय प्रधानमन्त्रीका विशेष दूतले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने कार्यक्रम तय भएको छ । राजनीतिक दलका कुन–कुन नेतासँग उनले भेटघाट गर्नेछन् भन्ने खुलाइएको छैन । आज बिहान ९ बजे काठमाडौं आइपुगेपछि उनले १० बजे प्रधानमन्त्रीसँग भेटघाट गर्नेछन् । त्यसपछि राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ ।
स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा उनले आइतबार जारी हुने नयाँ संविधानका विषयमा भारतको आधिकारिक धारणा राख्ने छन् । त्यसपछि उनले राजनीतिक दलका नेतासँग भेटी नयाँ संविधानका विषयमा जानकारी लिने जनाइएको छ । स्रोतका अनुसार उनले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसवादी दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट्ने छन् ।

Womui
Womui