डेढ लाख घुस सहित औषधी निरीक्षक यसरी समातिए

201

नेपालगन्ज, भदौ ३०–
चारैतिर तीजको रमझम, बुधबार बेलुका ७ बजे । औषधी व्यवस्था विभाग शाखा कार्यालय बाँकेका औषधी निरिक्षक सुरज गौतम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ स्थित जय शुभम मेडिकलतिर सोझै हान्निए । त्यहाँ उनले कसैलाई समय दिएका थिए । त्यही ठाउँमा गौतमले १ लाख ५० हजार रुपैयाँ घुस लिन कत्तिपनि धक मानेनन् ।  घुस लिने वित्तिकै उनी तत्काल फन्दामा परिहाले । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर सम्पर्क कार्यालयको टोलीले उनलाई रंगेहात पक्राउ गर्न सफल भयो ।

सम्पर्क कार्यालयका प्रमुख दिपक थापाका अनुसार कार्यालय समयपछि गौतमले घुस लिदै गर्दा पक्राउ परेका हुन् । ‘एक लाख ५० हजार रुपैयाँ घुस औषधी निरिक्षक सुरज गौतम हाम्रो नियन्त्रणमा छन,’ प्रमुख थापाले भने । निरिक्षक गौतमले औषधी उद्योगको नवीकरण र सञ्चालन गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको बुझिएको छ । सेवाग्राहीले घुस दिन्छु भन्दै सिधै अख्तियारमा उजुरी गरे । अख्तियार टोलीले सेवाग्राहीको समन्वयमा पक्राउ गरेको हो । घुस लिएको अभियोगमा पक्राउ परेका गौतमलाई बुधबार नै अख्तियारको सम्पर्क कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ ।

Womui
Womui