‘वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैनः खेलकुद मन्त्री अथक

36

काठमाडौं– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबीच भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरिएको बताएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालयकै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रका लागि राज्यले न्युन मात्रामा बजेटको व्यवस्था गरेको प्रति असन्तुष्टि व्यक्त गर्दै अथकले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने बताए ।

खेल क्षेत्रमै आफ्नो उर्जावान समय बिताएका खेलाडीहरुलाई राज्यले उचित ब्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सफल हालसम्मका सबै खेलाडीहरुको उचित व्यवस्थापनका लागि गहन छलफल गरिरहेका छौं ।” खेलाडीहरुले खेल क्षेत्रमै जीवन देख्ने वातावरण तयार गर्न मनोबल, खेल पूर्वाधारको विकास तथा खेलाडीहरुको व्यवस्थापनमा राज्य गम्भीर हुनुपर्नेमा मन्त्री अथकले जोड दिए । आफूले मन्त्रालय सम्हाले लगत्तै खेलाडीहरुको व्यवस्थापनका लागि विभिन्न चरणमा छलफल चलाएको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन राज्यले विश्वासको वातावरण सृजना गर्नुपर्ने उनको भनाइ रहेको छ ।

विभागीय टिमले नेपालमा खेलाडी उत्पादन तथा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै मन्त्री अथकले प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालयले सक्षम नेतृत्व पाएकाले खेल क्षेत्रको उल्लेखनीय विकास हुनेमा आफु विश्वस्त रहेको उल्लेख गरे । नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको व्यवस्थापनमा विभागिय टिमको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै डा. रेग्मीले आगामी दिनमा समेत त्यस प्रकारका गतिविधिहरुलाई निरन्तरता दिन आग्रह गरे ।

५० बढी खेलाडीहरुको सहभागिता रहेको कार्यक्रममा विभागीय टिम (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्म गरेका खेलकुद गतिविधि र उपलब्धिहरुका बारेमा रिपोर्टिङ गरेका थिए ।

Womui
Womui