बैंकबाट ऋण नपाउँदा साना किसान २४ प्रतिशत ब्याज तिर्न बाध्य

65

नेपालगन्ज– किसान लक्षित कर्जा लिन बैंकमा जाँदा किसानलाई झन्झटको सामना गर्नु परेको बताएका छन् । ऋण लिँदा बैंकिङ प्रक्रिया झन्झटिलो भएकै कारण साना किसान वार्षिक २४ प्रतिशतसम्म ब्याज तिर्न बाध्य रहेको बताइएको छ । मंगलबार नेपालगन्जमा कृषि ज्ञान केन्द्रले आयोजना गरेको शुलभ कर्जा सहजीकरण अन्तक्र्रिया गोष्ठीमा सहभागी अधिकांश कृषकले सो कुरा बताएका हुन् ।

कर्जा दिने बैंक र ऋण लिने किसानबीच सहजीकरणद्वारा सरल तरिकाले ऋण लिने व्यवस्था गराउने उद्देश्यसाथ आयोजना गरिएको कार्यक्रममा सहभागी किसानले सरकारद्वारा दिइने सुलभ र सहुलियत कर्जाको पहुँच बाहिर आफूहरु रहेका बताएका छन् । साथै बैंकहरुले ठूला व्यापारीलाई सहजै ऋण दिए पनि हिलो र माटोमा श्रम खर्चिने किसानलाई ऋण दिन चाहना नगरेको आरोप लगाएका छन् ।

सरकारले साना किसानका नाममा विभिन्न किसिमका सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिदिएको भए पनि बैंकबाट ऋण लिन त्यतिनै अप्ठेरो परेको बताउँदै साना किसानलाई ऋण निकाल्ने सहज वातावरण बनाइदिनु पर्ने बताएका छन् । साना किसानहरु हिलो र माटोमा परिश्रम गर्ने भएकाले बैंकिङ प्रक्रियाबारे अनभिज्ञ रहनुका साथै दूरदराजका व्यक्ति बैंकसम्म पुग्न नसक्ने बताए । किसानको आम्दानीको स्रोत उब्जनी भएकाले ऋण लिनु पूर्व मागिने आयस्रोत र धितोलगायतका प्रक्रियालाई पनि समयअनुसार किसानको हकमा परिवर्तन गर्नु पर्ने बताउँदै सहुलियतपूर्ण ऋणबारे धेरै किसानलाई जानकारी नै नभएकाले प्रचारप्रचार गरेर लक्षितवर्गलाई जानकारी दिन आवश्यक रहेको गोष्ठीका सहभागी किसानले बताएका छन् ।

च्याउ किसान केबलप्रसाद शर्माले बैंकको झन्झटिलो कर्जा प्रवाहका कारण किसानले बैंकबाट कर्जा लिन नचाहने बताए । किसान शर्माले भने, ‘ बैंकमा कर्जा लिन धेरै झन्झटिलो भएका कारण किसान दाजुभाइहरुले गाउँघरमै अधिक ब्याजदरमा कर्जा दिने गर्छन् ।’ शर्मा किसानले १८ देखि २४ प्रतिशत ब्याजसम्म तिर्ने गरेको बताउँछन् ।
त्यस्तै कार्यक्रमका अर्का किसान वीरबहादुर हमालले किसानले बंंैकबाट कर्जा लिनलाई कागजी समस्याले मर्का पारेको बताए । ‘किसानहरुलाई बैंकको कागजी प्रकृया पूरा गर्न नैै धौ धौ हुने गर्छ । उनीहरुलाई व्यवसायी योजनानै बनाउन जान्दैनन् । अनि त्यही व्यवसायी योजना बनाउन उनीहरुले ५ हजारदेखि १० हजारसम्म तिर्नु पर्छ । त्यो किसानका लागि धेरै मर्काको कुरा हो,’ हमालले भने । हमालले व्यवसायी योजना जस्ता विषयलाई बैंक आफैंले सहज बनाइदिनु पर्ने बताए ।

तरकारी किसान कृष्ण केसीले कतिपय अवस्थामा सबै कागजी प्रक्रिया पूरा हुँदा पनि किसानले कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे । उनले भने, ‘हामीलाई कर्जा लिनकै लागि कागजी प्रकृया पूरा गर्न ६ महिनासम्म पनि लाग्छ । त्यहीमाथि बैंकले ऋण सकियो जस्ता बाहाना बनाउँछन् ।’

कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेश भट्टराईले संचालन गरेको कार्यक्रममा कृषि जिल्ला सहकारी संघका सचिव लोकेन्द्र चन्दले बैंकले किसानहरुलाई ऋण दिननै नचाहने बताए । सचिव चन्दले भने, ‘किसानहरुलाई ऋण दिन झन्झटिलो हुने भन्दै बैंकहरु उनीहरुको फाइलनै हेर्न चाहदैनन् । बरु राष्ट्र बैंकलाई फाइन तिर्न तयार हुन्छन् । कतिले दिएका पनि होलान् ।’ चन्दले किसानका लागि बैंकले कागजी प्रक्रियामै झुलाउने आरोप लगाए । उनले किसानका लागि प्रवाह गरिने कर्जाका लागि बैंकमा सुरुमै किसानको आर्थिक आम्दानी देखाउनु पर्ने बाध्यता रहेको बताए । चन्दले भने, ‘एउटा किसानले कृषि कर्जाका लागि कर्जा लिँदैछ भने । उसले आम्दानी कसरी देखाओस् । बरु बैंकहरुले किसानले गर्न लागेको उत्पादनमूलक कामका बरेमा सुरुवात गरेको छ वा छैन । तालिम लिएको छ वा छैन जस्ता कुरालाई हेर्नु पर्छ ।’

कार्यक्रममा उपस्थित अधिकांश किसानले बैंकहरुले ब्याजदरमा पनि एकरुपता ल्याउन पर्ने बताए । उनीहरुले कर्जा र समयको आधारमा फरक–फरक ब्याजदर कायम नगर्नु पर्ने बताएका थिए । साथै उनीहरुले साना किसानहरुका लागि वडास्तरबाटै सहयोग गर्ने वातावरणको सृजना गर्नुपर्नेमा जोड दिएक थिए ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले विगतका दिनदेखि नै बंैक र किसानबीच ऋण प्रवाहका विषयमा समस्या आई रहेको बताए । उनले अनुदान प्रवाहका विषयमा अनुदान वापतको रकम भुक्तानीमा ढिलाइ भएको गुनासो किसानबाट आएको बताए । प्रमुख ढकालले धितोका कारणले गर्दा कृषकहरुलाई कर्जा लिन कठिनाइ भएको पनि उल्लेख गरे । साथै सुलभ कर्जाका बारेमा बैंकहरुलाई पर्याप्त जानकारी नभएको र ऋण अवधिभर रकम अनुदानको ब्याज दर फरक–फरक भएको गुनासो किसानहरुले भएको ढकालले बताए ।

नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक मेखबहादुर खत्रीले लुम्बिनी प्रदेश सुलभ कर्जा अन्तर्गत पहिले १० लाख रुपैयाँ ऋण दिँदै आएकोमा हाल २० लाख रुपैयाँ सतप्रतिशत अनुदानमा दिँदै आएको जानकारी गराए ।

लक्ष्मी बैंकका लोन म्यानेजर संगम क्षेत्रीले किसानहरुलाई अझै पनि बैंकहरुले प्रवाह गर्ने धेरै कर्जाका बारेमा जानकारी नभएको बताए । उनले बैंकले बिना धितो धेरै प्रकारका कर्जाहरु प्रवाह गरिरहेको बताए । उनले महिलाका नाममा दर्ता भएको फार्म, तीन वर्ष विदेश बसेर नेपाल आएर सोही काम गर्न इच्छुक युवाहरुलाई बिना धितो सहुलियत ब्याजदरमा बैंकले कर्जा प्रवाह गरिरहेको बताए ।

त्यस्तै कार्यक्रममा उपस्थित रहेका एनआइसी एसिया, नेपाल बैंक लिमिटेड, सनिमा बैंकलगायतका प्रतिनिधिले कतिपय अवस्थामा किसानले कर्जा प्रवाहका विषयमा पर्याप्त जानकारी नभएका कारण समस्या निम्तिएको बताए । साथै उनीहरुले सरकारले तोकेको सहुलियत कर्जाका बारेमा बैंक आफैंपनि अनविज्ञ रहेको उल्लेख गरेका ।
कार्यक्रमका प्रमुख अतिथि एवम् कृषि विकास निर्देशनालय, बुटवलका वरिष्ठ कृषि प्रसार अधिकृत शिवप्रसाद अर्यालले कार्यक्रम उपयोगीमूलक रहेको बताए । उनले कार्यक्रममा किसानका समस्याका विषयमा धेरै कुराहरु बाहिर आउन सकेका कारण गोष्ठी प्रभावकारी रहेको बताए । अर्यालले किसानलाई प्रवाह गरिने बैंकहरुको १५ प्रतिशत बजेटअनुसार कर्जा प्रवाहमा बैंकहरु सकारात्मक हुनु पर्ने बताए ।

Womui
Womui