शनिबार प्रदेश सभा निर्वाचन

71

नेपालगन्ज– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार(भोलि) निर्वाचन कार्यक्रम सुरु गरिने भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठकले प्रदेश सभा निर्वाचनका लागि शनिबार नै निर्वाचन कार्यक्रम अगाडि बढाउने निर्णय गेको हो ।

जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागि शनिबार बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बनेपनि कोहलपुर र राप्ती सोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने बताए । तर, निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार नै उम्मेदवारी मनोनयन लगायतका काम हुने उनले जानकारी दिए ।

प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदान कार्यमा खटिने मतदान अधिकृतलाई शुक्रबार नै अभिमुखीकरण गरिएको छ । जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीका अनुसार बाँके क्षेत्र नम्बर १ प्रदेश सभा (क) को फत्तेपुर, (ख) को कोहलपुर, क्षेत्र नम्बर २ (क) को जिल्ला समन्वय समिति नेपालगन्ज, (ख) को नेपाली कांग्रेस बाँकेको कार्यालय र क्षेत्र नम्बर ३ (क) को सम्झना चोक र (ख) को खजुरास्थित कपास विकास समितिमा निर्वाचन कार्यक्रम गरिनेछ ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) मा अधिवक्ता गोपाल गिरी, (ख) मा अधिवक्ता रुपनारायण बिसी, क्षेत्र नम्बर २ (क) मा सुरेश पर्सेला, (ख) मा ऋषिराज शर्मा, क्षेत्र नम्बर ३ को (क) मा अधिवक्ता विश्वजित तिवारी र (ख) मा विक्रम भण्डारीलाई मतदान अधिकृत तोकिएको सहायक निर्वाचन अधिकृत शाहीले जानकारी दिए ।

मतदान अधिकृतले सम्बन्धित प्रदेश सभा क्षेत्रमा पुगेर बिहान १० बजेपछि मतदाता नामावली प्रकाशन लगायतका निर्वाचन कार्यक्रम अगाडी बढाउने जिल्ला निर्वाचन परिचालन समिति बाँकेका सदस्य(प्रवक्ता) अर्जुन ओलीले बताए ।

Womui
Womui