म्याराथनलाई सुरक्षा निकायको तर्फबाट कुनै समस्या नआउने प्रतिबद्धता

53

नेपालगञ्ज – मंसिर ४ गते नेपालगन्जमा हुने धारा सातौं म्याराथनमा सुरक्षा निकायको तर्फबाट कुनै समस्या नआउने प्रतिबद्धता गरिएको छ । म्याराथनलाई व्यवस्थित गराउने सवालमा आयोजक टिम र बाँकेका सुरक्षा प्रमुखहरुसँग भएको छलफलमा सो प्रतिबद्धता जनाइएको हो । म्याराथनलाई सभ्य र भव्य बनाउन त्यहाँ सुरक्षाकर्मी परिचालन गर्ने निर्णयसमेत भएको आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिएका छन् ।

त्यस्तै धारा सातौं नेपालगन्ज म्याराथन हुँदा सडक एकतर्फी रुपमा बन्द गरिने भएको छ । नेपालगञ्जको वीपीचोकदेखि कौशिल्यानगरसम्म हुने म्याराथन रुटमा ५० बढी ठाउँमा क्रसिङ रहेकाले मंसिर ४ गते एकतर्फको सडक बन्द गर्ने निर्णय गरिएको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, नेपाल प्रहरीका एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरीका एसपी अशोक बम, राष्ट्रिय अनुसन्धानका एसपी नरेन्द्र गिरी, जिल्ला ट्राफिक प्रमुख ऐनबहादुर मल्लको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी खत्रीले सधैंजसरी यसपाली पनि म्याराथनमा सुरक्षा निकायबाट पूर्ण सहयोग रहने बताए । म्याराथन हुँदा ठाउँ–ठाउँमा वाटरप्वाइन्ट राखिन्छ । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले नेपाली सेनाले एम्बुलेन्स र ठाउँ–ठाउँमा वाटरप्वाइन्ट राखिदिने बताए । म्याराथनको मिति नजिकिँदै जाँदा तयारी तीव्र पारिएको छ । खेलाडीको इन्ट्रीदेखि भेन्यु व्यवस्थापन, विभिन्न व्यक्तित्व र निकायसँग समन्वयका काम भइरहेको आयोजकले जनाएको छ ।

सुरक्षा अधिकारीसँगको छलफलमा आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले म्याराथनका विभिन्न पक्षका बारेमा प्रकाश पारेका थिए । छलफलमा रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ, लुम्बिनी प्रदेशका खेलकुद सदस्य सचिव भीम वलीको उपस्थिति रहेको थियो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गर्ने म्याराथनमा महानायक राजेश हमाल, विश्व साइकलयात्री पुष्कर शाहको उपस्थिति रहने भएको छ ।
सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादी र राज्यका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगन्ज म्याराथन हुँदै आएको छ । राष्ट्रिय मान्यता प्राप्त नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउने कसरत भइरहेको छ । यसपटकको म्याराथनमा सात हजारलाई सहभागी गराउने आयोजकले बताएका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैंटौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।

Womui
Womui