बाँके प्रहरीको प्रगतिः पक्राउ पर्नेको संख्या दोब्बर

40

नेपालगन्ज–बाँके प्रहरीले सार्वजनिक सुनुवाइ गर्दै पछिल्लो तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

यो अवधिमा एक हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी दिए । यस्तै यो अवधिमा २ सय ३७ मुद्दा दर्ता भएको जानकारी दिँदै एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा यस वर्ष पक्राउ पर्नेको संख्या दोब्बरले बढेको बताए ।

यस अवधिमा राजश्व संकलन भन्सार चोरी पैठारीको सामान तथा ट्राफिक कारबाहीबाट ३ करोड ७८ लाख ९८ हजार ७ सय ३३ रुपैयाँ र ४ किलो २९.१९ ग्राम सुन बरामदबाट ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैयाँ राजस्व स‌ंकलन भएको एसपी अधिकारीले जानकारी दिए । यस्तै फैसला कार्यान्वयनको क्रममा पक्राउ संख्या २९ जनाबाट ११ लाख ७५ हजार ७ सय १० रुपैयाँ जरिवाना असुल भएको छ भने हात्तीको दाँत २, चितुवाको छाला १ सहित ७ जना पक्राउ परेका छन् । कटुवा पेस्तोल थान १, भरुवा १ थान सहित २ जना पक्राउ परेको एसपी अधिकारीले जानकारी दिए भने लागु औषध मुद्दाका ४२ जना पक्राउ परेको उनले बताए । पक्राउ परेकाबाट ९७ ग्राम ब्राउन सुगर, ३ किलो चरेश, २० ग्राम गाँजा र २१२३ ट्याब्लेट नाईट्राजेपाम बरामद भएकोसमेत एसपी अधिकारीले बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्ने माग गरेका थिए । नेपालगन्जमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएको विषयमा पनि कार्यक्रममा सहभागीले प्रश्न गरेका थिए ।

कार्यक्रमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, संघका महासचिव चिरञ्जीवि ओलीलगायतले आआफ्नो धारणा राखेका थिए ।

Womui
Womui