शिवशक्ति माविमा अब प्रोजेक्टरबाट पढाइ

82

राप्तीसोनारी– विद्यालयमा पहिले सिलोट, त्यसपछि चकबोर्ड हुँदै अहिले इन्टरेक्टिभ स्मार्ट बोर्ड प्रयोग हुन थालेको छ । सूचना, संचार र प्रविधिको क्षेत्रमा आएको क्रान्तिले कक्षाकोठाको सिकाइमा आमूल परिवर्तन आएको छ। अहिले कक्षाकोठामा क्लास ब्लगिङ र विकिस, पोड्कास्टिङ इन्टेरेक्टिभ ह्वाइटबोर्ड, स्मार्ट टिभी र प्रोजेक्टर जस्ता प्रविधिहरु प्रयोग हुन थालेका छ्न् । सोही कुरालाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षा दिनका लागि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ पेरानी स्थित शिवशक्ति माध्यमिक विद्यालय नवीनतम् प्रविधिमा प्रवेश गरेको छ ।

विद्यदालयले शिशु कक्षादेखि ३ कक्षासम्मका बालबालिकालाई स्मार्ट टिभीको माध्यमले अध्यापन गराइरहेको छ भने ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइरहेको छ ।

८९५ विद्यार्थी रहेको विद्यालयले नवीनतम् प्रविधिका माध्यमले पठनपाठन गराउँदा पाउँदा गर्वको अनुभूति भएको विद्यालयका प्रधानाध्यापक पुस्कर खड्काले बताए । प्रविधिमैत्री शिक्षण गराइरहेका राष्ट्रले शिक्षामा उल्लेख्य प्रगति गरेको बताउँदै प्राधानाध्यापक खड्काले प्रोजेक्टर प्रविधि पूर्णरुपमा कम्प्युटराइड भएको बताए । उनले यसरी कम्प्युटरका माध्यमले पठनपाठन गराइँदा शिक्षक एवम् विद्यार्थी दुवैलाई प्रविधिको राम्रो ज्ञान हुने बताए ।
कम्प्युटरमा आधारित शिक्षण विधि भएकाले यसमा समायोजन हुन शिक्षक एवम् विद्यार्थीलाई केही समय लाग्ने भए पनि शिक्षकले परम्परागत रुपमा आफूले जे जान्यो त्यही पढाउने शैलीमा परिवर्तन आउने बताए । बालबालिकालाई पठनपाठन गराउनका लागि शिक्षकलाई सुरुका दिनमा सिक्न कठिन भए पनि अहिले अभ्यस्त भइसकेकाले विद्यार्थीलाई पढाउन अत्यन्त सहज भएको प्रअ खड्काले बताए ।

प्रोजेक्टर शिक्षण विधि श्रव्य एवम् दृश्यका माध्यमले पढाइने विधि हो । परम्परागत शिक्षणमा श्रव्यका माध्यमबाट मात्र पढाइ हुँदा विद्यार्थीलाई बुझ्न गाह्रो हुने भएकाले शिक्षण सिकाइमा प्रोजेक्टरको प्रयोग हुँदा विद्यार्थीलाई पढाइमा अभिरुचि जाग्ने, दृश्यका माध्यमले प्रत्यक्ष रुपमा विद्यार्थीले निगरानी गर्न पाउँछन् भने सधैं उही कुरा पढाइ राख्दा शिक्षकमा आउने शिक्षणप्रतिको अभिरुचि घट्ने समस्या समाधान हुन्छ ।

विद्यालयले ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई पठनपाठन गराउनका लागि १३ वटा प्रोजेक्टर जडान गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त प्रोजेक्टर खरिद गरिएको हो । ६ लाख पचार हजार रुपैयाँ खरिद गरिएको हो ।

बुधबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीलगायतले शिक्षण सिकाइमा प्रोजेक्टरको प्रयोगको शुभारम्भ गरेकी छिन् । विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतको उपस्थिति रहेको कार्यक्रममा बोल्दै उपाध्यक्ष खत्रीले गाउँठाउँमा प्रविधिका माध्यमबाट पठनपाठन गर्न पाउनु विद्यार्थीका लागि ठूलो अवसर भएको बताइन् । उनले यसको सक्दो सदुपयोग गरी भविष्य सुचिश्चित गर्न विद्यार्थीलाई आह्वान गरिन् । उपाध्यक्ष खत्रीले गाउँपालिकाले शिक्षामा ठूलो लगानी गरेको बताउँदै विद्यालयमा कम्प्युटर कक्ष निर्माणका लागि १०लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् । विद्यालयमा २२ शिक्षक र कर्मचारी गरी २७ जना रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

Womui
Womui