बाँकेमा नागरिक अभियानबारे नयाँ रणनीति

82

नेपालगन्ज– नागरिक स्तरबाट सार्वजनिक सरोकारका साझा सवाललाई उठान गरी समस्या समाधानका लागि बाँकेमा भइरहेका पहलका बारेमा छलफल गरी थप रणनीति बनाइएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित छलफल कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले जिल्लाका समस्याप्रति सरोकारवाला निकायको ध्यानकर्षण गराउँदा केही सुधार भएको बताएका थिए । उनीहरुले सार्वजनिक सरोकारको सवालामा उच्च अदालतमा दायर गरिएको मुद्दाबाट भएको आदेशको पूर्ण कार्यान्वयनमा अझै समस्या रहेको भन्दै सरोकारवाला निकायलाई सोको कार्यन्वयनका लागि आग्रह समेत गरेका थिए ।
छलफलमा बाँकेमा कोभिड संक्रमणको व्यवस्थापन, विभिन्न ज्ञापन तथ ध्यानाकर्षण, अदालतमा दायर गरिएको रिटमाथिको आदेश, दबाब जस्ता कार्यक्रमले सुधार तथा परिवर्तन ल्याएकोले नागरिक समाजको भूमिका प्रभावकारी रहेको ठहर गरिएको थियो । जिल्लाका विभिन्न सवाललाई निरन्तर रुपमा उठाउँदा सबैको सहयोग तथा खाँचो आवश्यक रहेको कुरा आँैल्याइएको थियो ।
बैठकमा सार्वजनिक सरोकारका मुद्दामा हुने अदालतको आदेशको कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल गर्ने, आमाको नामबाट नागरिकता प्रदान, नागरिक समाजबाट भएका प्रयासहरुको उपलब्धिलगायतका विषयमा आगामी रणनीति समेत तयार गरिएको आयोजक संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताए । उनका अनुसार बैठकमा भेरी अस्पतालमा कोभिड व्यवस्थापनको अवस्था, हालसम्म भएका विभिन्न सहयोग तथा सामाग्रीको विवरण र उपचारका समस्या तथा समाधानका उपाय लगायतका विषयमा जानकारीका लागि सूचना माग गर्ने पनि निर्णय भएको छ ।
बैठकमा नेपाल बारका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, बाँके जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, मानव अधिकार संगठन बाँके अध्यक्ष प्रहलादबहादुर कार्की, कानुन पत्रकार समाजका अध्यक्ष लोकबहादुर शाह, गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य सूर्यलाल यादव, फियानका क्षेत्रीय संयोजक सुरेश गौतम, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम, मानवअधिकार एलाइन्सका प्रभातसिंह ठकुरी, इन्सेकका विनोद पाण्डे, नागरिक समाजका अभियन्ता विश्वजित तिवारी, बलबहादुर चन्द, कृष्णमुरारी प्रसाद भटट, शैलेन्द्र बैश्यलगायतको सहभागिता रहेको थियो ।
आइएचआरसीको नेतृत्वमा रहेको नागरिक समाजका अगुवाहरुको समूहले जिल्लामा भएका विभिन्न सवालहरुप्रति निरन्तर रुपमा खबरदारी गर्दै आएको छ ।

Womui
Womui