योजना छनोटका लागि जनताको घरदैलोमा पुगे अध्यक्ष लाहुराम थारु

417

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको दिनचर्या यति बेला जनताको घरदैलोमै बित्ने गरेको छ । आर्थिक वर्ष ०७८/०७९ को योजना छनोटका लागि पालिका अन्तर्गतका ९ वटै वडाका गाउँ बस्तीमा अध्यक्ष थारु यतिबेला जनतासँग भेट गर्नमै व्यस्त भएका हुन् ।

गाउँबस्ती स्तरबाट आएको जनताको माग र योजनालाई सम्बोधन गर्ने उद्देश्यसाथ गाउँवस्तीमा अध्यक्ष थारु पुगेका हुन् । अध्यक्ष थारुले यतिबेला विशेष गरेर विकासे योजनालाई प्राथमिकतामा राखेका छन् ।

पालिकाबाट हुने प्रत्येक योजनामा जनताको प्रत्यक्ष सहभागिता हुनु पर्छ भन्ने मान्यता राख्ने अध्यक्ष थारुले गाउँवस्तीको आवश्यकता र जनताको मागको आधारमा योजना छनोट गरिरहेको बताउँछन् ।  यसरी योजना छनोटका विषयमा पालिका अध्यक्ष आफ्नो घरदैलोमा आएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् । गाउँवस्तीमा योजना छनोटका लागि घरदैलोमा पुगेका अध्यक्ष थारुसँग स्थानीयले आफ्ना माग, समस्या एवम् योजनाका विषयमा खुलेर बताउने गरेका छन् ।

आफ्नो गाउँठाउँमा हुने विकासे योजनामा जनताको प्रत्यक्ष सहभागिता भएन भने नाममात्रको विकासे योजना हुने बताउँदै अध्यक्ष थारुले भने,‘ जनताको इच्छा बेगर हुने कुनै पनि योजनाले सार्थकता पाउँदैन ।’ आफ्नो गाउँठाउँमा हुने कुनै पनि योजनाको रेखदेख एवम् संरक्षण जनताले नै गर्नु पर्ने भएकाले पालिकाबाट आएको बजेटलाई सही तवरले सदुपयोग भएको छ कि छैन भनेर हेर्ने प्रथम जिम्मेवारी पनि जनताको भएको अध्यक्ष थारुले बताए ।

Womui
Womui