‘समुदायको समस्या हाम्रो समस्या हो’

87

नेपालगन्ज–स्थानीय समुदायका समस्या तथा समाधानको पहलबारे छलफल गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, विपत तथा सडक व्यवस्थापन र वातावरणलगायतका विभिन्न सवालमाथि छलफल गरी कार्यान्वयनका लागि पहल गरिएको हो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रद्वारा बिहीबार आयोजित साझा सभामा उठेका सवालहरुमाथि छलफल गरी भएका समस्यालाई सम्बोधन गर्न प्रतिबद्धता गरिएको थियो ।

कार्यक्रममा बाँकेको डुडुवा गाउँपालिकामा शिक्षा क्षेत्रतर्फ अम्रहवा विद्यालयमा विद्यार्थीको न्युन संख्या, नियमित शिक्षक अनुपस्थित, विद्यार्थी ड्रपआउट, मदरसा शिक्षामा कक्षा स्वीकृति, विषयगत शिक्षक दरबन्दी, दिवा खाजा कृषितर्फ कृषक अनुदान, रासायनिक मल वितरण, सिँचाइका समस्या, कोरोनाविरुद्धको खोपको व्यवस्थापन, गाउँघर किल्निक तथा खोप व्यवस्थापन, भेरी डिस्टलरीबाट निस्कने दुर्गन्धित फोहरले पारेको असर, टिप्पर आतंक तथा राप्ती र डुडुवाका पुल जीर्ण र आवतजावतमा यात्रुलाई सास्ती भोग्नु परेकोलगायतका विषयमा समुदायका सहभागीले आ–आफ्ना समस्या राखेका थिए ।

सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले मुलुक संघीय पुनर्संरचनामा गएको खुशीको कुरा हो तर स्थानीय सरकार संचालन तथा व्यवस्थापनका लागि कानुन, नीति, नियमको प्रभावकारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । उनले स्थानीय सरकारका काम कारबाही गुणस्तरीयता तथा प्रभावकारिताका बारेमा अनुगमन गर्न जरुरी रहेको भन्दै स्थानीय तह अन्तर्गत पनि अनुगमनको प्रभावकारी संन्यत्र निर्माण गरी कार्य गर्नु पर्ने बताए ।
डुडुवाका कार्यपालिका सदस्य लिलावती यादवले कार्यक्रममा उठेका विभिन्न सवालहरुलाई विषयगत शाखाबाट समाधान हुन नसकेका सवाललाई कार्यपालिका बैठकमा छलफल गरी समाधानतर्फ पहल गर्ने प्रतिबद्धता गरिन् ।

सभामा आएका सवाल तथा समस्याहरु प्रति जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादव, कृषि ज्ञान केन्द्रका अधिकृत रामप्रकाश यादव, गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जय कर्ण, कृषि शाखा प्रमुख सुशील शर्मा, स्वास्थ्य शाखा फोकल पर्सन हेमन्त शर्माले आएका कुराप्रति जवाफ दिँदै कार्यान्वयनका लागि प्रतिबद्धता गरेका थिए ।

Womui
Womui