अमेरिका र चीनबाट आएको खोप कसले लगाउन पाउने ?

218

काठमाडौं– सरकारले अमेरिकाबाट १५ लाख डोज खोप र चीनबाट ८ लाख डोज खोप ल्याएको छ । सोही खोप सरकारले क-कसलाई दिने भनेर निर्णय गरेको छ । सरकारले गरेको निर्णय अन्तर्गत खोप ५० देखि ५४ वर्ष उमेर समूहका मानिस तर पहिलो डोज लगाउन बाँकी भएकाहरूले पाउने छन् भने ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई पनि सरकारले जोन्सन एण्ड जोन्सनको खोप लगाउने भनेको छ । साथै हाल नेपालमा बसिरहेका शरणार्थीहरूलाई पनि अमेरिकी खोप नै लगाइने भएको छ । त्यसबाहेक यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूले पनि यहीँ खोप लगाउन सक्ने छन् ।

यस्तै, चीनबाट खरिदमार्फत ल्याइएको ‘भेरोसेल’ खोप भने ५५ वर्ष माथिका पहिलो डोज लगाउन बाँकी मानिसहरूलाई दिने भनिएको छ । चिनियाँ खोप पाउने समूहमा विश्वविद्यालयका प्रध्यापक, शिक्षक र कर्मचारीहरू पनि छन् । यीबाहेक सार्वजनिक यातायातमा कार्यरत चालक र सह-चालकहरूले पनि चिनियाँ खोप नै लगाउन सक्नेछन् ।

साथै नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न रहेका तर खोप लगाउन बाँकी रहेका नागरिकहरूले पनि यही खोप लगाउन सक्ने भनिएको छ ।
त्यस्तै, खोप अनिवार्य गरेका देशहरूमा जाने नागरिकहरूले पनि चिनियाँ खोप नै पाउने भएका छन्। यसअघि रोजगारीका लागि विदेश जाने कामदारहरूले खोप दिनुपर्ने माग गरेका थिए ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज लगाए हुनेछ ।
खोप शाखाले माथि तोकिएको प्राथमिकताभित्र रही जिल्ला कोभिड खोप समन्वय र अनुगमन समितिको निर्णय अनुसर खोप प्रदान गर्ने भनेको छ भने त्यसबाहिर रहेर खोप दिएको जानकारीमा आए कानुनबमोजिम कारबाही हुने भनिएको छ ।

डा. गौतमका अनुसार उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सक्नेछन् ।

यस्तै, प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेशाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने भनिएको छ । तर चिनियाँ खोप अहिलेलाई तीनवटा प्रदेशका मानिसले मात्र लगाउन सक्नेछन् । डा. गौतमका अनुसार चीनबाट ल्याइएको ८ लाख डोज खोप अहिलेलाई गण्डकी, लुम्बिनी र बागमती गरी तीनवटा प्रदेशमा मात्र वितरण गरिएको छ । उनले बाँकी खोप पनि आउने क्रममा रहेकाले खोप आउनसाथ बाँकी प्रदेशहरूमा पठाइने बताए ।

सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । सोही अन्तर्गत पहिलो लटमा ८ लाख डोज खोप आएको हो । बाँकी खोप पनि चरणचरण गरेर छिट्टै आउने भनिएको छ ।

Womui
Womui