दलित जनप्रतिनिधिका लागि क्षमता विकास तालिम

80

सुर्खेत(भेरीगंगा)-भेरीगंगा नगरपालिका कार्यालय सुर्खेतका दलित जनप्रतिनिधिका लागि तीन दिने क्षमता विकास तालिम शनिबारबाट छिन्चुमा सुरु भएको छ । राजनैतिक, सामाजिक र जनताका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गराउने र बोल्ने कलाको क्षमता विकास गराउने उद्देश्यले तालिम सुरु भएको हो ।

शनिबार एक कार्यक्रमका बीच नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै मेयर चन्दले भेरीगंगामा दलित जनप्रतिनिधिका क्षमता विकास र नेतृत्वदायी भूमिका रुपमा नगरमा हरेक विकास क्षेत्र, कार्यक्रम, समिति, बजेटमा सम्बोधन अर्थपूर्ण रुपमा गरिँदै आएको बताए ।

तीन दिनसम्म सिकेको क्षमता विकास तालिमबाट दलित जनप्रतिनिधिले आफ्नो वडा र नगरमा सेवाग्राही, नगरवासीसँग विकास, विवाद र जनताका अपेक्षामा कुशल नेतृत्वका रुपमा विकास गराउने अपेक्षा राखे । नगर उपप्रमुख रेणु आचार्यले नेतृत्व विकास तालिम व्यक्तिगत विकासका लागि अर्थपूर्ण रहने भन्दै तालिमबाट सिकेका कुरा व्यवहारिक रुपमा लागू गर्न सके समाज र नगर क्षेत्रमा जनताको पक्षमा वकालत गर्न सहज हुने बताइन् । तालिम उद्घाटन शत्रमा वडा नम्बर ३ का वडाअध्यक्ष जितबहादुर सुनारले क्षमता विकास र भाषणकला तालिम नगरका जनप्रतिनिधि र कर्मचारीका लागि जरुरी रहेको बताए । तालिमका प्रशिक्षक तथा वरिष्ट संचारकर्मी कमल विके निर्मोहीले तालिमबाट सिकेका कुरा व्यवहारमा उर्तान सके एक कुशल र सक्षम जनप्रतिनिधिको रुपमा आफूलाई निर्खान सकिने बताए । समाजसेजी तथा संचार उद्यमी प्रेमप्रकाश खड्काले क्षमता विकास तालिमका सीपहरु विशेष ध्यान दिएर र अर्थपूर्ण रुपमा हासिल गर्नुपर्नेमा जोड दिए । तालिम उद्घाटनमा सहभागीले दलित समुदायका जनप्रतिनिधि र शिक्षित व्यक्तिहरु समय अनुसार परिवर्तन हुँदै समाजका सबै क्षेत्रमा नेतृत्व भूमिकामा आउनुपर्ने धारणा राखेका थिए ।

तालिममा नगरका १३ वडाका २८ जना दलित जनप्रतिनिधिको सहभागिता रहेको छ । तालिम अवधिभर वरिष्ट संचारकर्मी कमल विके निर्मोही, समाजिक अभियान्ता डा. मित्र परियार, समाजसेवी प्रेमप्रकाश खड्का र प्राचार्य भानु अधिकारीले दलित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा छिनछिन पब्लिकेसन प्रालिले तालिम आयोजना गरेको हो ।

Womui
Womui