भेरी नदीमा राफ्टिङ

328

भेरीगंगा–१ वडास्थित भेरी नदी पुल र खताङबाट नदीमा व्यवसायिक रूपमा दुई स्थानबाट राफ्टिङ चलाउने गरिन्छ । यो वडाबाट सुरु भएको राफ्टिङ १५ किलोमिटर टाढा बराहताल गाउँपालिकाको रानीघाटसम्म चल्ने गरेको छ । यहाँको भेरी नदी पुल र खताङबाट व्यवसायिक रूपमा राफ्टिङ चल्ने गर्छ । आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण गर्न राफ्टिङ सेवा संचालन भएकोले स्वदेशी र विदेशी पर्यटकले यसको मज्जा लिन सक्छन् । विगत चार वर्षदेखि भेरी नदीमा यो क्षेत्रकै व्यवसायिक राफ्टिङ चल्ने गरेको छ । नदीमा १२ महिना पानी बग्ने भएकोले जुनसुकै सिजन र मौसम राफ्टिङका लागि प्रयोग गर्न सकिन्छ ।

रानीघाटसम्म लामो र छोटो दूरीमा राफ्टिङ र बोटिङ चल्ने गर्छ । राफ्टिङका क्रममा भेरी नदीमा गोही, रैथाने माछा, विभिन्न प्रजातिका चराचुरुङ्गी, बाँदर, बदेल, चित्तल, खरायो लगायतका जंगली जनावर अवलोकन गर्न सकिन्छ । अहिले १५ किलोमिटर दूरीमा ६ घण्टा राफ्टिङ गरिँदै आएको छ । यहाँ राफ्टिङसँगै चुरे पहाड र जंगलको हरियाली दृश्य अवलोकन गर्न सकिन्छ । नदीमा माछा मार्ने मानिसहरू, सःसाना कटेज, होटल, पानी घट्टहरू, काठका डुङ्गाहरू वारपार गरेको देख्न सकिन्छ । भेरी नदीमा अहिले सामूहिक रूपमा राफ्टिङ चल्दै आएको छ । बर्सेनि मंसिर महिनादेखि असार महिनासम्म राफ्टिङको चहलपहल हुने गर्छ ।

पर्यटन चिनारी पुस्तकबाट

Womui
Womui