तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा

80

काठमाडौं– विश्व स्वास्थ्य संगठनले थप तीन नयाँ भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यीनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामाकरण गरेको थियो ।

भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो । मन्त्रालयका अनुसार अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको छ ।

पहिलो लहरको कोरोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरियन्टले ठूलो असर पारेको उनले बताए ।

यसअघि मुलुकमा उत्पत्ति भएको आधारमा कोरोना भेरियन्टलाई चिनिने गरेको थियो । विभिन्न देशले यसमा आपत्ति जनाएपछि डब्ल्यूएचओले उक्त भेरियन्टहरुलाई ग्रीक अल्फाबेटअनुसारको नाम दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Womui