पत्रकार समेत रहेका पूर्वशिक्षक खरेलको रहरलाग्दो कृषि कर्म

259


रामबहादुर थापा
बागलुङ
–कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उनी कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेका हुन्छन् । गलकोट नगरपालिका–९ मल्म, छिसका ४९ वर्षीय खरेलले गरेको कृषि कर्म रहरलाग्दो छ ।

सात वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि बाख्रापालनमा लागेका खरेल अहिले मौरीपालन र कागती खेतीमा रमाइरहेका छन् । उनकोमा ३२ घार सेरेना जातका मौरी छन् भने ५०० बोट कागती । कागतीका १०० बोटले फल दिन थालेका छन् । मह पनि काढ्ने बेला हुँदैछ । खरेलले तरुल, टिमुर र बेसारको पनि व्यावसायिक खेती गर्दै आएका छन् । ‘१०० झाल तरुल र १०० बोट टिमुर पनि छ’, उनले भने । दुई वर्षअघिसम्म व्यावसायिक बाख्रापालन गरेका खरेलले आमा बिरामी भएर घरमा बढी समय दिनुपर्ने भएपछि त्यसलाई छाडेर कृषितिर लागेको सुनाउछन् ।

‘बाख्रापालनबाट पनि राम्रै भइरहेको थियो, अहिले मौरीपालन र कागती खेतीमा हात हालेको छु’, उनले भने । नयाँ व्यवसायमा झण्डै रु सात लाख लगानी भएको खेरलले बताए । उनले ‘गलकोट कृषि तथा पशुपक्षी उत्पादन फार्म’ दर्ता गरेर व्यवसाय अगाडि बढाए । सेवानिवृत्त जीवनलाई उद्यममा लगाउने सोचका साथ कृषिलाई रोजेको खरेलको भनाइ छ । ‘परम्परागत खेतीले मात्र केही हुँदैन, कृषिको व्यावसायिक उत्पादनतर्फ लाग्नुपर्छ’, उनले भने । उनले नयाँ पुस्तालाई कृषि र पशुपालनमार्फत गाउँमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पनि आफूले दिन चाहेको उल्लेख गरे । उत्पादनमा जोडिनुअघि खरेलले २० वर्षसम्म छिमेकी गाउँ रिघाको सरस्वती प्राथमिक विद्यालयमा अध्यापन गर्नुभएको थियो ।

पढाइमा स्नातक खरेलमा कृषिबाटै आत्मनिर्भर बन्ने अठोट छ । उनीसँग निकट भविष्यमै व्यावसायिक भैँसीपालन थाल्ने योजना छ, जसका लागि गोठ निर्माणको कामसमेत अगाडि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले उत्पादनको बजारीकरणमा पनि कुनै समस्या छैन । पारिलो ठाउँ, उब्जाउ जमिन र उपयुक्त हावापानीका कारण छिसगाउँमा कृषि उत्पादनको राम्रो सम्भावना छ । प्रकृतिले नठगे र कुनै बाधा नपरे खरेलले यो वर्षदेखि मह, कागती, तुरुललगायत कृषि फसल बेच्न थाल्ने उनी वताउछन् । उनको कृषि व्यवसायमा पत्नी सीताको दरिलो साथ छ । सात सन्तानमा कान्छा छोराबाहेक सबैको बिहेबारी भइसकेको खरेलले सुनाउनुभयो । ‘परिवार धान्न समस्या छैन, दुःख गरे सफल भइन्छ भन्ने विश्वास छ’, उनले भने ।


पत्रकारिताको पाटोमा खरेल
कृषि व्यवसाय सँगसँगै पत्रकारिता पनि अँगालेका खरेल गलकोट पत्रकार समाजको अध्यक्षसमेत छन् । उनी सामुदायिक रेडियो गलकोट एफएम र गलकोटपत्र साप्ताहिकमा संवाददाताको रूपमा क्रियाशील छन् ।
खरेलले गाउँठाउँका घटना र विषयलाई सञ्चारमाध्यममार्फत सम्प्रेण गरी जिम्मेवार पत्रकारको भूमिका निर्वाह गर्छन् । ‘कृषि त मेरो मूल पेशा नै भइहाल्यो त्यससँगै पत्रकारितालाई पनि अगाडि बढाएको छु’, उनले भने । ग्रामीण भेगमा बसेर दुवै क्षेत्रमा क्रियाशील हुँदा समाजले सम्मानको दृष्टिले हेर्ने गरेको खरेलको अनुभव छ ।

गाउँका घटना, विकास निर्माणका योजना र सार्वजनिक कार्यक्रमबारे समाचार दिँदा आफूलाई सन्तोष मिल्ने गरेको उनले सुनाए । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका साधारण सदस्यसमेत रहनुभएका खरेल र उनका परिवारजनले हालै आफ्ना दिवङ्गत बुबा टीकाराम खरेलको स्मृति र ९५ वर्षीया आमा धनकलाको सम्मानमा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’समेत स्थापना गरेका छन् । शाखामा स्थापित एक लाखको पुरस्कार कोषबाट जिल्लामा सक्रिय एक जना पत्रकारलाई बर्सेनि पुरस्कृत गरिने भएको छ । पत्रकारिता क्षेत्रमा लागेका नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले परिवारका तर्फबाट पुरस्कार स्थापना गरिएको खरेलले बताए । रासस

Womui
Womui