वडाध्यक्ष शाहीलगायतमाथि कुटपिट गरेको भन्दै कांग्रेसको आपत्ति

70
घाइते वडा अध्यक्ष शाही र विद्यार्थी नेता आरसी ।

रुकुम–वडा अध्यक्षलगायतमाथि कुटपिट गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीलगायतमाथि भएको आक्रमणको निन्दा र भत्र्सना गरेको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न तथा घाइतेहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
बुधबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल चलिरहेकै समयमा नेकपा (दाहाल–नेपाल) समूहका कार्यकर्ताले आक्रमण गर्दा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही, नेविसंघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी, कांग्रेस क्रियाशिल सदस्य दीपक केसीसहित पाँचजना घाइते भएको कांग्रेसले जनाएको छ ।
नेकपाबाट निर्वाचित वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले प्रहरीको अगाडि नै चक्कु प्रहार गरी घाइते बनाएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘भविष्यमा यस्ता घटनाहरु पुनः नदोर्होयाउन नेकपालाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुनसमेत आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
घाइते शाहीको अनुहारमा, आरसीको टाउकोमा र केसीको ढाडमा गम्भीर चोट लागेको छ । उनीहरुलाइ बुधबार बिहान थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको हो । अन्य दुई जनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बिक, वडा नम्बर ८ का वडा अध्यक्ष मानबहादुर चनारासहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुबै राजनीतिक दलका कार्यकर्तावीच आठबिसकोटमा खानेपानी, बस काउन्टर लगायतका विषयमा बेला बेला विवाद हुने गरेको छ ।

Womui
Womui