‘यस वर्ष एकअर्कालाई सर्वाधिक गाली गर्ने व्यक्ति ‘‌ओली–प्रचण्ड’

158

नेपालगन्ज– यस वर्षमा सर्वाधिक एकअर्कालाई गाली गर्ने व्यक्ति केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले बताएका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिका स्तरीय समितिले शनिबार छुट्टा–छुट्टै स्थानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले यस्तो धारणा राखेका हुन् ।

तत्कालीन माओवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी मिलेको ढोङ्ग गर्दै  बहुमत ल्याउन जनतालाई झुक्याएको बताउँदै उनले भने,‘ दुई तिहाइ बहुमत ल्याएका नेता अहिले एकअर्कालाई गाली गर्नमै व्यस्त छन् ।’

रिजालले यस्तो भन्दै गर्दा नेपाली कांग्रेसलाई सत्तामा जान अहिले कुनै हतार नभएको पनि बताएका छन् । ‘नेपाली कांग्रेसका लागि संविधान जोगाउने पहिलो जिम्मेवारी हो, संविधान जोगियो भने, लोकतन्त्र जोगियो भने मात्र देश जोगिन्छ, त्यसपछि हामी समृद्धिको बाटोमा जान सक्छौं, कांग्रेसलाई सत्ताको चिन्ता होइन,’ उनले भने । कांग्रेसले दुःख गरेर बनाएको संविधान अहिले धरापमा परेको भन्दै संविधान जोगाउने दायित्व नेपाली कांग्रेसकै भएको नेता रिजालले स्पष्ट पारे । उनले थपे, ‘सत्तामा पुगिन्छ कि भन्ने कांग्रेसको माग होइन, कांग्रेस सत्तामा जान्छ, कांग्रेसले नेपाललाई समृद्धिको बाटोमा लैजान्छ, तर संविधान भत्काएर होइन, संविधानलाई शिरमा राखेर जान्छ कांग्रेस ।’

नेपाली कांग्रेस संविधानलाई शिरमा राखेर संसद र जनताको घरमा जाने रिजालले धारणा राखे ।

नेपालको नायक नेपाली जनता भएको भन्दै उनले कम्युनिष्टहरुको अशली चरित्रलाई जनताले मूल्याङ्कन गर्नुपर्ने बेला आएको बताए । कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलहका कारण प्रतिनिधि सभा विघटन भएको उनले बताए । प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव गर्ने नियत नरहेको नेता रिजालको बुझाइ छ । ‘ओलीले चुनाव गर्नका लागि संसद विघटन गरेका होइनन्, चुनाव गर्ने मान्छे पार्टी फुटाएर चुनावमा जाँदैन, हिजो चुनावमा जाँदा प्रचण्डलाई मिलाएर जाने ओली आज चुनावमा जानका लागि प्रचण्डलाई निकालेका हुन् त ?’ उनले प्रश्न गरे । प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको भन्दै संसद पुनर्स्थापना भए पनि वा निर्वाचन भए पनि सत्ताबाट बाहिरिने ठोकुवा गरे । ‘ओली निर्वाचन भए पनि जान्छन्, संसद पुनर्स्थापना भए पनि जान्छन्, तर को जाने, को नजाने भन्ने महत्वपुर्ण कुरा होइन, नेपालमा विधिको शासन रहने कि नरहने भन्ने महत्वपूर्ण कुरा हो ।’ संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार कतै नभएको पूर्वमन्त्री रिजालले ठोकुवा गरे । प्रधानमन्त्री ओली अधिनायकवादको बाटोमा हिँडिरहेको र उनले कानुन, संविधान, अदालत, न्यायालय, लोकसेवा आयोग, निर्वाचन आयोग सबैलाई आफ्नो हातमा लिएको आरोप लगाए । अर्को प्रसंगमा कांग्रेस केन्द्रीय सदस्य रिजालले पार्टी महाधिवेशनको महोलले पनि सबैलाई छोएको बताए । ‘पार्टीको महाधिवेशनमा सभापति, महामन्त्री लगायत सबै पदमा दुई भन्दा बढी व्यक्तिको उम्मेदवारी रहन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार बाँकेका ८ वटै स्थानीय तहमा विरोध सभा सम्पन्न गरेको छ ।

Womui
Womui