सद्भाव कायम गर्ने माध्यम ‘टोपी’

162

नेपालगन्ज– आठौं राष्ट्रिय टोपी दिवस नेपालगन्जमा भव्यतासाथ मनाइएको छ । राष्ट्रिय पोसाक हाम्रो सान, देशको गौरबलगायतका नारासहित वीपी चोकमा शुक्रबार दिवस मनाइएको हो । टोपीसहित सहभागिता जनाउँदै नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले देशमा राष्ट्रिय पोसाकको पहिचान र प्रयोग हराइरहेका बेला राष्ट्रिय पोसाकको संरक्षण गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रमले आम जनमानसमा सकारात्मक सन्देश दिने बताइन् । नेपाली संस्कृति र परम्पराको संरक्षण सबैले गर्नु पर्नेमा उनले जोड दिइन् ।

टोपी दिवसमा सहभागिता जनाएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले राष्ट्रिय टोपी दिवसले देशका विभिन्न भाषा, जातजातिलाई एउटै सूत्रमा जोड्दै सद्भाव कायम गर्न मद्दत पुर्‍याएको बताए । यस्ता कार्यक्रमले राष्ट्रिय भावना जागृत गराउने भन्दै नेपालीको पहिचान टोपीलाई सबैले संरक्षण गर्नु पर्ने बताए ।  त्यस्तै नेपाली संस्कृतिको संरक्षण र सम्बर्द्धमा यस्ता खाले कार्यक्रम नियमित रुपमा हुनु सह्रानीय काम भएको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।

जिल्लाका ४० बढी व्यक्तिको सहभागिता रहेको टोपी दिवसको आयोजना भ्रष्टाचारविरुद्ध काम गर्दै आएको बासले केही वर्षदेखि आयोजना गर्दै आएको छ ।

Womui
Womui