‘प्रिय’ मैदानमा नेरीको सफलता

209
तस्बिरः विक्रम बुढा ।

नेपालगन्ज–नेरी थापाका लागि मंगलप्रसाद उच्च माविको क्रिकेट मैदान प्रिय स्थान हो । जहाँ उनले क्रिकेट करियरका धेरै अविष्मरणीय पलहरु व्यतीत गरेकी छिन् । बल र ब्याट समाउन सिकेको मैदान भएर होला नेरीका लागि मंगलप्रसाद मैदान प्रिय लाग्छ । आफ्नो प्रिय मैदानमा नेरीले एकपटक पुन सानदार खेल खेल्दा बाँकेले शुक्रबार छनोट क्रिकेटमा जित निकालेको छ । नेरीले अविजित ४६ रन बनाएपछि बाँकेले प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट क्रिकेटमा रुपन्देहीलाई ६ विकेटले पराजित ग¥यो । विजयी लक्ष्य त्यतिधेरै चुनौतीपूर्ण नभएपनि घरेलु टोलीका खेलाडीले सोचेजसरी ब्याटिङ गर्न सकेका थिएनन् । तर नेरीले भने क्रिजमा धैर्यता देखाउँदै आफनो क्षमतालाई प्रमाणित गरिदिइन् । बाँकेको टोलीमा सबै नेरीका बहिनी हुन् । बहिनीहरुमा अनुभवको कमीले होला सोचेजस्तो स्कोर गर्न नसकेपनि आफुले उनीहरुलाई हौसला दिएर खेल्न सहयोग गरेको नेरीले जित पछि बताइन् ।

नेरीसँगै बाँकेका ८ जना महिला खेलाडीले एक समय राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका थिए । नेपाली टोलीको कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी नेरीमा अनुभवको कमी छैन । नेपाली टोलीमा सर्वाधिक सफलता र अनुभवी खेलाडीको अग्रपंक्तिमा नेरीको नाम आउने गर्छ । आफनो गर्विलो इतिहास जस्तै नेरीले शुक्रबार नेपालगन्जको मैदानमा खेल देखाइन् ।

खेल सकिएपछि उनले टीमका खेलाडीलाई भन्दैथिइन,‘मैले मैदानमा तिमीहरुलाई जे भने पनि त्यो तिमिहरुको करियरको लागि हो । हामीले कति धेरै समयपछि खेल्न पाएका छौं । यसलाई हामीले सदुपयोग गर्नुपर्छ । सक्दो मिहिनेत गरेर राम्रो खेल्ने प्रयास गर्नु पर्छ । सफलता पाइहालिन्छ ।’
नेरीको प्रदर्शनबाट जुनियर खेलाडीले सिक्ने प्रशस्त उदाहरण भएको अनुभव सुनाउँछन बाँके टोलीका प्रशिक्षक जमिल अन्सारी । उनले भने,‘सिनियर खेलाडीले आफ्नो जिम्मेवारी कुन बेला, कसरी पुरा गर्नु पर्छ भन्ने सिकाइन् नेरीले । बाँकेको टिममा त्यो समस्या छ । सिनियर खेलाडीले खेलको नतिजा उल्टाउन सक्छ भन्ने आज नेरीले देखाइन् ।’

शुक्रबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा सुरुवातमा ब्याटिङ गरेको रुपन्देहीले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ७ रन जोडेको थियो । रुपन्देहीको तर्फबाट वर्षा रानाले सर्वाधिक ४४ रन जोडेकी थिइन् । घरेलु टोली बाँके विरुद्धको खेलमा वर्षा बाहेक अन्य खेलाडीले गतिलो स्कोर गर्न सकेनन् । वर्षाले ६८ बलको सामना गर्ने क्रममा ४ चौका प्रहार गरिन् । उनी अनुभवी खेलाडी नेरी थापाबाट बलमा आउट भएकी थिइन् । त्यस्तै पाहुना टोली रुपन्देहीका लागि नितु भण्डारीले १७ र मेलिना थापाले १६ रनको योगदान गरेका थिए । बाँकेका लागि नेरी थापा र सरिना जिसीले २–२ विकेट लिए ।
१ सय ८ रनको विजयी लक्ष्य पाएको बाँकेका लागि नेरीको प्रदर्शन महत्वपूर्ण रहयो । उनले आफ्नो अनुभवलाई प्रयोग गर्दै टोलीलाई जित दिलाइन् । उनले ३८ बलमा ६ चौका प्रहार गर्दै अन्तिम सम्म क्रिजमा आफनो प्रभावलाई देखाएकी थिइन् । नेरी बाहेक बाँकेका कुनै पनि ब्याटस वुमनले दोहोरो स्कोर बनाउन सकेनन । खेलमा बाँकेकी नेरी थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् ।
गत पुस ११ गतेदेखि दाङको लमहीमा हुने प्रधानमन्त्री महिला क्रिकेट कप प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले प्रदेशस्तरीय टिम बनाउँदै छ । नेपालगन्जमा भैरहेको प्रतियोगितामा सहभागी तीन जिल्ला टिमलाई नकआउटका आधारमा प्रतिस्पर्धा गराईदैछ । यही प्रतियोगिताबाट छनोट समितिले सुरुवातमा १८ जना र पछि १४ जना खेलाडी छनोट गर्ने आयोजकले बतायो ।
प्रदेश स्तरीय छनोट प्रतियोगितामा बाँके, दाङ र रुपन्देहीले प्रतिस्पर्धा गरिरहेका छन् । बाँके जिल्ला क्रिकेट संघको आयोजना गरेको छनोट प्रतियोगिताबाट लुम्बिनी प्रदेशको टोली निर्माण गरिनेछ । छनोट खेलले महिला खेलाडीमा नयाँ उत्साह जगाएको बताउँछन् लुम्बिनी प्रदेश क्रिकेट संघ एवम् बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापामगर । –कालपृष्ठ

Womui
Womui