रहरले गरेको तरकारी खेतीले गाउँको मुहार फेरियो

46


गलेश्वर– घरमा प्रशस्त पुख्र्याैली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन । बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरूले नै प्रयोग गरिरहेका छन् ।

अमेरिका र जापानमा रहेका भाइ, छोरो र बुहारीबाट मासिक १२ लाख रूपैयाँ भन्दा बढी थापाको हातमा पर्छ । तर, थापालाई भाइ र छोरा बुहारीले विदेशमा कमाएर पठाएको १२ लाखले फुर्मासी र घमण्डी बनाएन । बरू उनीहरूले विदेशमा दुःख गरेर पठाएको पैसा बचत गरिदिने र घरखर्चलगायत आफ्नो व्यावहारिक जीवन चलाउन आफ्नै माटोमा पौरख गर्ने जाँगर सिकायो । त्योभन्दा पनि बढी थापाकै देखासिकीमा गाउँका युवाले सानालेखमा तरकारी फलाऊँ अभियान चलाएर आफैँ स्वावलम्बी बनेर गाउँको मुहार नै फेर्न सफल भए ।

थापाले दुई वर्षअघि रहरैरहरले सुरू गरेको बेमौसमी तरकारी खेतीले अहिले उनलाई व्यावसायिक मात्रै बनाएन सरल स्वभावका पौरखी ‘अर्गानिक’ कृषकको परिचय पनि दियो । थापाले सानालेखको आफ्नो घर नजिकै रहेको सात रोपनी बारीमा विभिन्न थरिका बेमौसमी तरकारी खेती गरेका छन् । अठार वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरैरहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक तीन लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । उनको बारीमा अहिले काउली, बन्दा, खुर्सानी, धनियाँ, गोलभेँडा, रायो सागलगायतका बेमौसमी तरकारी लटरम्मै फलेका छन् ।

’मैले दुई वर्षअघि तीन रोपनी जग्गामा बेमौसमी तरकारी खेती शुरु गरेको हुँ’, थापाले भने, ’अरूको देखेर रहरैरहरले सुरू गरेको तरकारी खेतीले अहिले मलाई व्यावसायिक बनायो, आम्दानी पनि राम्रै हुन थालेको छ ।’ थापालाई अहिले तरकारी खेतीबाट भएको आम्दानीमा नै रस बस्न थालेको छ । थापाकै देखासिकी गरेर गाउँका १० युवाले पनि व्यावसायिक तरकारी खेतीको सुरूवात गरेका छन्। थापालाई यसैमा आत्मसन्तुष्टि मिलेको छ । थापा भन्छन्, ’मैले गरेको बेमौसमी तरकारी खेती देखेर गाउँका अरू भाइहरूले पनि सुरू गरेका छन्। उनीहरूले पनि राम्रो कमाइ गरिरहेका छन्। मलाई सबैभन्दा धेरै खुशी यसैमा लागेको छ ।’

दुई वर्ष अघिसम्म करेला, स्कुस, सिमीलगायतका परम्परागत रैथाने तरकारीबाहेक अरु तरकारी खान मनलागे बजारबाट किनेर ल्याउनुपर्ने बाध्यतामा रहेका सानालेखवासीका बारीमा अहिले विभिन्न किसिमका बेमौसमी तरकारी लटरम्मै झुलेका छन् । स्थानीय हरिप्रसाद शर्मा भन्छन्, ’अहिले त गाउँको रौनक नै फेरिएको छ, रहरैरहरमा धु्रवजीले गरेको तरकारी खेतीले गाउँलेलाई गर्न जानेपछि हुँदो रैछ त भन्ने बनाएको छ । अहिले हाम्रो गाउँ बेमौसमी तरकारी खेतीको ‘हब’ नै बनेको छ ।’ सानालेखका हरि शर्मा, महेन्द्र थापा, नारायण शर्मालगायतका १० युवाले अहिले व्यावसायिक तरकारी खेती सुरू गरेका छन्। उनीहरूले तरकारी बेचेर एक सिजनमा दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्