देशभर कांग्रेसको विरोध प्रदर्शनः भौतिक दूरी र माक्स प्रयोग गर्न देउवाको आग्रह

36
फाइल तस्बिर ।

नेपालगन्ज–सोमबार (मंसिर २९) नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने भएको छ । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको कांग्रेसका सभापति देशबहादुर देउवाले बताएका छन् ।

मंसिर २९ मा देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने पूर्व निर्णय अनुरुप भोलि कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गर्न थालेको हो ।

देशभर हुने प्रदर्शनमा सभापति देउवाले कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपिल गरेका छन्।  आइतबार एक अपिल जारी गर्दै सभापति देउवाले प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउनसमेत अपिल गरेका छन् । 

भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकाङ्क्षामा सरकार केन्द्रित रहेकाले उक्त प्रवृत्तिको परिणाम स्वरुप नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको बताउँदै सभापति देउवाले नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको बताए । कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिने एवम् जवाफदेही बनाउने उद्देश्यले देशव्यापी रुपमा विरोध प्रदर्शन गर्न लागेको सभापति देउवाले बताएका छन् ।

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’, देउवाले प्रश्न गरेक छन् । 

Womui
Womui