‘सफलताको सूत्रः पवित्र इच्छा’–सिद्धिकी

220


नेपालगन्ज–मानिसलाई सफल हुन पवित्र इच्छासाथ अघि बढ्नु पर्ने मुस्लिम अगुवा महिला मोहम्मदी सिद्धिकीले बताएकी छिन् । आफ्नो जीवनको सफलताको उत्प्रेरणात्मक कथा युवाहरु माझ राख्दै उनले सो कुरा बताएकी हुन् । नेपालकै अगुवा मुस्लिम महिला तथा महिलाहरुको उत्प्रेरणाको श्रोत पूर्व संविधान सभा सदस्यसमेत रहेकी सिद्धिकीले पवित्र इच्छा साथ अघि बढे सफलता हासिल गर्न सकिने बताउँदै युवालाई कुनै पनि क्षेत्रमा लाग्दा पवित्र इच्छा साथ अघि बढ्न आग्रह गरिन् ।
बासले आयोजना गर्दै आएको इन्स्पाइरिङ युथको १९८औं श्रृङ्खलामा बोल्दै सिद्धिकीले झण्डै ३० वर्ष अगाडि तत्कालीन मुस्लिम समुदायका महिलाले घर बाहिर निस्किनु हँुदैन भन्ने मान्यतालाई तोड्दै समाजका लागि केही गर्ने पवित्र इच्छासाथ बाहिर निस्किएको सुनाइन् । अनुशासन, इमान्दारिता र समाज सेवाप्रतिको निरन्तरतालाई जीवनको मूल मन्त्र बनाएर सामाजिक हुँदै राजनीतिक क्षेत्रमा होमिएको उनले बताइन् ।
तत्कालीन समयमा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका महिलाबाट आफू उत्प्रेरित भई घर बाहिर निस्केर केही गर्ने आत्मविश्वास बढेको विगत सम्झँदै उनले सुनाइन् । बिना स्वार्थ सामाजिक सेवाको भावनाले राजनीतिमा लागेको भन्दै संविधान सभाको सदस्य बनेर घरेलु हिंसा, बिल पास गर्न पहल गर्नेदेखि धेरै महिलालाई अगाडि बढ्न उत्प्रेरणा दिन सकेकोमा खुसी लागेको सिद्धिकी सुनाउँछिन् । हालसम्म विश्वका विभिन्न देशको भ्रमण गरिसकेको बताउँदै अन्य देशको तुलनामा नेपाल उत्कृष्ट लाग्छ उनलाई ।
मुस्लिम समुदायका महिलामा अहिले निकै परिवर्तन आएता पनि अझै कहीँकतै महिला प्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्नु दुःखद् भएको बताउँदै उनले अनुशासित र इमान्दारितापूर्वक अगाडि बढ्न युवा पिँढीलाई अपिल गरेकीछिन् ।

Womui
Womui