पूर्व सभामुख महराकी पत्नीको निधन

67

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ । निमोनियापछि उपचार कै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आज बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो । सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन् ।
महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् । महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दुःख दिइएको पारिवारिक स्रोत बताउँछ ।
२०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घर मै गिरफ्तार गर्न खोज्दा उनले सुरक्षाकर्मीको घेरा तोडेकी थिइन् । त्यस दिनदेखि नै उनको परिवार नै पूर्णकालीन कार्यकर्ताका रूपमा तत्कालीन माओवादीमा लागेका थिए ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो । कार्तिक १४ गते उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

Womui
Womui