असल व्यक्तिलाई राजनीतिमा आउन मेयर राणाको आग्रह

281
खबरदारी पुस्तक विमोचन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा (दायाँबाट दोस्रो)लगायत अतिथिहरु ।

नेपालगन्ज– असल सोच भएका व्यक्तिलाई राजनीतिमा आउन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले आग्रह गरेका छन् । पत्रकार एवम् भ्रष्टाचारविरुद्धका अभियन्ता नमस्कार शाहद्वारा लिखित खबरदारी नामक पुस्तकको विमोचनका क्रममा शनिबार कार्यक्रमका विशेष अतिथि रहेका मेयर राणाले यस्तो बताएका हुन् ।

इतिहास हेर्दा सदियौंदेखि भ्रष्टाचार व्याप्त रहेकाले नीति निर्माण तहमा असल व्यक्तित्वको आगमन भए भ्रष्टाचार निर्मुल हुने भन्दै मेयर राणाले भ्रष्ट नेतालाई सभा सम्मेलनमा गाली गर्नु भन्दा उनीहरुलाई पन्छ्याएर असल मान्छे राजनीतिमा आए देशमा ससाना कुरामा भइरहेको भ्रष्टाचार स्वतः कम हुँदै जाने मेयर राणाको भनाइ रहेको छ ।

सबै नेता भ्रष्टाचारी नभएको भन्दै मेयर राणाले सबै नेतालाई भ्रष्टाचारीको संज्ञा दिनु भन्दा पहिले जनता सच्चिनु पर्ने बताएका छन् । उनले प्रश्न गर्दै भने,‘हामी त्यहीँ नेतालाई गाली गर्छौ, अनि निर्वाचनमा त्यहीँ नेतालाई अत्यधिक भोट दिएर जिताउँछौं । नेता गलत कि हामी ?’ चाइना जहाँ भ्रष्टाचार गरे मृत्यु दण्डसमेत दिने व्यवस्था छ त्यहाँ त भ्रष्टाचार हुन्छ भने हाम्रो देशका नीति निर्माता नै भ्रष्टाचारी भए कसको के लाग्छ भन्दै मेयर राणाले समाजसेवी र असल मान्छे राजनीतिमा आउनु पर्नेमा जोड दिएका हुन् ।

भ्रष्टाचारविरुद्धको अभियानमा भोगेका कुरालाई पुस्तकको आकार दिनु नवअभियन्तालाई प्रेरणाको स्रोत हुने कार्यक्रमका विशिष्ट अतिथि भ्रष्टाचारविरुद्धका अभियन्ता केदार खड्काले बताए । उनले नयाँ अभियन्ताका लागि खबरदारी पुस्तकले सकारात्मक सन्देश दिने बताए । मानव जातिसँगै भ्रष्टाचार सधैँ रहने भन्दै भ्रष्टाचारविरुद्धका अभियन्ताहरु त्यसरी नै लडेर ती भोगाइलाई पुस्तकको रुप दिन आवश्यक रहेको औँल्याए । खड्कालेृ भने,‘जसरी ८० वर्षको फरकमा भूकम्प आउँछ त्यसरी नै भ्रष्टाचारविरुद्धको भूकम्प १०÷१० वर्षमा जानु पर्छ ।’
राष्ट्रिय सूचना आयोगका पूर्व अध्यक्ष एवम् भ्रष्टाचारविरुद्धका अभियन्ता कृष्णहरि बाँस्कोटाले भिडियो सन्देशद्वारा भ्रष्टाचारविरुद्ध नमस्कार शाह झैं सबै युवा लाग्नु पर्ने बताउँदै सबै चेतनशील युवाका लागि पुस्तक प्रेरणाको स्रोत हुने विश्वास लिएको बताए । २४ वटा लेख र १६ वटा संस्मरण समेटिएको पुस्तकको टिप्पणी शिक्षिका एवम् साहित्यकार किरण आचार्य र वरिष्ठ पत्रकार एवम् बासका सल्लाहकार पूर्णलाल चुकेले गरेका थिए ।

Womui
Womui