महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकिल वितरण

250

बाँके (डुडुवा)–स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सक्रिय बनाउन थालेको छ । समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयम् सेविकालाई स्वास्थ्य सेवा थप गुणस्तरण र प्रभावकारी बनाउन जिम्मेवार बनाउन थालेको हो । समुदायमा आवतजावतका लागि गाउँपालिका स्वास्थ्य शाखाले साइकिल वितरण गरेको छ ।

शनिबार एक कार्यक्रममार्फत् डुडुवा गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका ५९ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकिल वितरण गरिएको छ । साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले निस्वार्थ भावनाले २४ सैं घण्टा खटिने महिला स्वास्थ्य स्वयम् सेविकाको सेवा सुविधामा समेत वृद्धि गर्ने योजना रहेकोे भन्दै उनले समुदायमा स्वास्थ्य सचेतना तथा महिला स्वास्थ्यका विभिन्न समस्यालाई समाधान गर्न उनीहरुको भूमिकालाई प्रभावकारी बनाउन सेवासुविधा वृद्धि गर्ने प्रतिबद्धता गरेका छन् । गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेकोले स्वास्थ्यमा सम्पूर्ण औषधी र ल्याबको निःशुल्क व्यवस्था गरेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, कार्यपालिका सदस्य लिलावति यादव, सुष्म यादव, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा विभिन्न स्वास्थ्य चौकीका इन्चार्जहरुको उपस्थिति रहेको थियो ।

Womui
Womui