रोकिएका विकास निर्माणले गति लिन्छः प्रमुख प्रशासकीय अधिकृत शाही

56


बाँके (नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकामा कोभिड–१९ का कारण रोकिएका विकास निर्माणका कामले गति लिने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताएका छन् । पालिकाको विकासको लागि सबैको सहयोग अनिवार्य भएकोले सबैलाई एकजुट गराउँदै रोकिएका विकास निर्माणका काम अघि बढाउने उनको धारणा रहेको छ । विकास नै लोकतन्त्रको परिसूचक भएकाले विकास निर्माण लाई तीव्रता दिइने बताउँदै उनले गाउँपालिकाले विकास निर्माणका काममा ठूलो फड्को मार्ने विश्वस लिएको सुनाए ।

यस अघि बिजुली नहुँदा नरैनापुरको सम्पर्क कार्यालय नेपालगन्जमा राखिएको थियो । बिजुली अभावका कारण इन्टरनेट नचल्दा कार्यालयको दैनिक काम प्रभावित भएपछि नेपालगन्जमा सम्पर्क कार्यालय राखिएको थियो । शाही प्रमुख प्रशासकीय अधिकृत भएर नरैनापुर गएसँगै नरैनापुरमा बिजुली पुगेका कारण नेपालगन्जको सम्पर्क कार्यालय नरैनापुरमै सरेको छ भने दैनिक कामकाजका लागि नरैनापुरदेखि करिब ६० किलोमिटर टाढा आउन सेवाग्राही बाध्य थिए । नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै सम्पर्क कार्यालय पनि गाउँपालिकामै आएपछि स्थानीयले गाउँपालिकाको अधुरो विकास निर्माणका कामले गति लिने विश्वास गरेका छन् ।

आर्थिक वर्ष २०७७।७८ का लागि ५५ करोड २८ लाख २३ हजार ३ सय ६० रुपैयाँको बजेट रहेको छ । जसमा पूर्वाधार विकासमा सशर्त बाहेक ४ करोड ० लाख, विविध अनुदान अन्तर्गत गौशाला निर्माणका लागि ७ करोड, गाउँपालिका भवन निर्माणमा ४ करोड, सशर्त बाहेक शिक्षामा २ करोड १ लाख, स्वास्थ्यमा १ करोड ७४ लाख, कृषि तथा पशुमा १ करोड, विपत् व्यवस्थापनमा १ करोड र महिला सशक्तिकरण तथा समवेशीकरणमा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त ३९ करोड २० लाख ९७ हजार ३ सय ६०, प्रदेश ५ सरकारबाट ३ करोड ५३ लाख १ हजार र आन्तरिक राजश्वतर्फ अनुमानित ५४ लाख १५ हजारमा आधारित रही आर्थिक वर्ष २०७७।७८ को बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

त्यस्तै कोभिड–१९ नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा काम गरिने अधिकृत शाहीले बताउँदै भने,‘ गाउँपालिकालाई नेपाल सरकारबाट समानीकरण अनुदान ११ करोड २३ लाख, नेपाल सरकार राजश्व बाँडफाँड ९ करोड १३ लाख ९७ हजार ३ सय ६०, सशर्ततर्फ १७ करोड ६४ लाख र विशेष एवम् समपूरक अनुदानतर्फ १ करोड २० लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै प्रदेश ५ सरकारबाट समानीकरण अनुदान ५५ लाख ९ हजार, राजश्व बाँडफाँड ३९ लाख ४२ हजार, सशर्ततर्फ १ करोड ४८ लाख ५० हजार र विशेष एवम् समपूरक अनुदानतर्फ २ करोड १० लाख रुपैयाँ प्राप्त भएको छ । जिल्ला समन्वय समितिको विविध अनुदानतर्फ ११ करोड रुपैयाँ रहेको छ ।‘
प्रमुख शाहीका अनुसार शीर्षक अनुरुप छुटिएको बजेटको भरपुर उपयोग गर्दै चालू आर्थिक वर्षमा गाउँपालिकाले विकास निर्माणमा मुहार फेर्ने छ ।

Womui
Womui