समसामयिक विषयमा जिल्लास्तरीय अन्तर्संवाद

192

नेपालगन्ज –(कोभिड–१९) मा स्थानीय सरकारका समस्या, चुनौती र पहलका लागि नागरिक समाजको भूमिकाका विषयमा आइतबार नेपालगन्जमा अन्तर्संवाद कार्यक्रम गरिएको छ । अनलाइन भर्चुअल रूपमा भएको कार्यक्रममा स्थानीय तहले कोरोनाको महामारीको व्यवस्थापनमा भोगेका चुनौतीहरु र बन्दाबन्दीको समयमा सेवाप्रवाह गर्दा आएका समस्याका बारेमा छलफल भएको थियो ।

पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले गरेको छलफलमा कोभिड महामारीका कारण शिक्षामा परेकोे असरलाई न्यूनीकरण गर्न बालबालिकाहरुको शिक्षण सिकाइलाई निरन्तरता दिन तीनवटै सरकारलाई जिम्मेवार बनाउन नागरिक दबाब आवश्यक रहेकोमा जोड दिइएको थियो । किसानले भोगेका समस्या मलखादको अभाव, कृषि सामग्रीको अभावलाई समाधान गर्न सरकारले लागु गरेको कृषि नीति तथा कार्यक्रमको कार्यान्वयन व्यवहारिक रूपमा प्रभावकारी बनाउनु पर्ने जस्ता सवाललाई सहभागीले उठाएका थिए ।

कार्यक्रममा सेप्टेम्बर महिनालाई सूचनाको हकको महिनाको रूपमा मनाउने बारेमा छलफल भएको थियो । त्यसक्रममा स्थानीय निकायलाई जबाफदेही र पारदर्शी बनाउन सूचनाको हकलाई प्रयोग गरी व्यापकता दिने प्रतिबद्धता गरिएको थियो । कार्यक्रममा डुडुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, अधिकारकर्मी रविन्द्र कर्ण, बसन्त गौतम, विश्वजित तिवारी, मैमुना सिद्दिकीलगायतले आआफ्नो विचार राखेका थिए । कार्यक्रमको सहजीकरण अधिकारकर्मी प्रकाश उपाध्यायले गरेका थिए ।

Womui
Womui