कोरोना निषेधित क्षेत्र विद्युत प्राधिकरण !

146
आइतबार नेपाल विद्युत प्राधिकरण नेपालगन्जमा देेखिएको भिड । तस्बिरः विक्रम बुढाक्षेत्री

नेपालगन्ज – कोरोना भाइरसको जोखिम कम गर्न भन्दै देशमा गत चैत ११ देखि पटक पटक गरी लकडाउन, निषेधाज्ञा लाग्दै आएको छ । पछिल्लो समय कारोना भाइरसको हटस्पट बनेको बाँकेमा कोरोना भाइरसका संक्रमित घटेसँगै लकडाउनलाई खुकुलो गर्दै जिल्ला कोडिभ–१९ संकट व्यवस्थापन केन्द्रले शुक्रबार र शनिबार हप्तामा दुई दिन निषेधाज्ञा लगाउने भन्दै भदौ १२ गते निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै बाँकेवासीले शुक्रबार र शनिबार मात्र कोरोना भाइरसको संक्रमण हुने भन्दै गरेको निर्देशनलाई बाध्य भएर पालना गर्दै आएको ज्वलन्त उदाहरण विद्युत प्राधिकरणमा देख्न सकिन्छ । विद्युत प्राधिकरणमा हुने ठेलमठेल भिडलाई हेर्दा संकट व्यवस्थापन केन्द्रले निर्देश गरेको कोरोना जोखिमका उपाय अपनाउनु पर्ने बाध्यता प्राधिकरणमा छैन । निर्देशन मात्र लाद्ने अनि त्यसको पालना भयो भएन अनुगमन नगर्नु संकट व्यवस्थापनको गैरजिम्मेवारी भएको आइतबार विद्युत महसुल बुझाउन गएकी एक सेवाग्राहीले बताइन् । के विद्युत प्राधिकरण कोरोना निषेधित क्षेत्र हो ? उनले प्रश्न गर्दै भनिन्, ‘हप्तामा दुई दिन बन्द गरेर साना व्यवसायी र दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएको जनतालाई दुःख दिने, अनि सरकारी निकायमा हुने भिडभाडलाई कम गर्न नसक्नु संकट व्यवस्थापनको गैरजिम्मेवारीपन हो ।’

विद्युत प्राधिकरणमा भएको भिडभाडलाई देखेपछि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन फोन गर्दा सम्पर्क हुन नसकेको गुनासो पोख्दै उक्त सेवाग्राहीले भनिन्,‘सरकारी कार्यालयमा हुने भिडभाडलाई संकट व्यवस्थापन केन्द्रले नियन्त्रण गर्न सक्नु पर्छ । नत्र भने जोखिम नियन्त्रण गर्न भन्दै गरिने लकडाउन वा निषेधाज्ञाको कुनै अर्थ रहँदैन ।’

Womui
Womui