पालिकाको बजेटबाट विद्युतीकरण

97

राप्ती सोनारी गाउँपालिकाको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ‘वडा नं. ३, ४ र ५ मा सामुदायिक विद्युतीकरण गर्ने कार्यको लागि आवश्यक बजेट विनियोजन गर्नुका साथै आवश्यक समन्वय र पहल गरिनेछ’ उल्लेख गरियो । पालिकाले एक करोड ८९ लाख रूपैयाँ बजेट पनि विनियोजन गरेको छ ।
यो वडामा विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरणको धामपुरमा ३३ केभी प्रसारण लाइनको सव स्टेशनबाट काम जारी छ । कोहलपुरदेखि धामपुरसम्मको यो प्रसारण लाइनको विद्युत परीक्षण सफल भइसकेको छ । एक दशक अघिदेखि जारी यो प्रसारण लाइनबाट अहिलेसम्म उपभोक्ताले विद्युत उपभोग गर्न पाएका छैनन् । अझै कहिले काम सकिने हो भन्ने टुंगो देखिँदैन ।

वडा नं. ५ मा पनि सोही स्टेशनबाट विद्युत विस्तारको काम जारी छ । वडा नं. ३ मा यो वर्षको पालिकाकैै बजेटबाट विद्युतीकरणको तयारी भइरहेको छ । अर्को वर्ष वडा नं. ४ मा विस्तार गर्ने योजना छ । ३ का वडाअध्यक्ष गंगाराम थारु वडामा गत वर्र्ष विनियोजन गरिएको बजेट खर्च नभएर बाँकी रहेको ३९ लाख ४५ हजार रूपैयाँमध्येबाट २२ लाख रूपैयाँ बढीको टेण्डर गरेर विद्युतको पोल गाड्ने काम भइरहेको बताउँछन् । भन्छन्, ‘एक सय ९५ वटा पोल आएका हुन् । अहिलेसम्म मुख्य सडकमा पोल गाडेर सकिएको छ । अझैं केही ठाउँमा गाड्ने काम जारी भएकै बेला लकडाउनले रोकिएको छ । अझै आधाभन्दा बढी क्षेत्रमा पोल गाड्न बाँकी नैै छ ।’

प्र्राधिकरणको योजनामा पनि राप्ती सोनारीका तीन वटै वडामा विद्युत विस्तार गर्ने लक्ष्य छ । प्राधिकरणले ढिलाइ गरेपछि पालिकाले आफ्नै स्रोतमा नागरिकलाई सेवा दिने जनाएको छ । पालिकाले सुरुमा ३, ४ र ५ नम्बर वडामै स्थानीय स्रोतबाट विद्युत विस्तार गर्ने लक्ष्य लिए पनि ५ नम्बर वडामा भने प्राधिकरणबाट नै पोल गाडेर तार तान्ने काम जारी छ । पालिका अहिले ३ नम्बर वडामा विद्युत विस्तारमा लागेको छ । ती वडामा पनि प्राधिकरणको विद्युत आउन ढिलाइ भए पालिकाकै बजेटबाट विस्तार गर्ने तयारीमा छ ।

वडा नंं. ३ साबिकको फत्तेपुर गाविसको चार वटा समेटेर बनाएको हो । वडाको कूल जनसंख्या पाँच हजार नौ सय १९ हो । जहाँ एक हजार दुई सय दुई घर धुरी छन् । वडा अध्यक्ष थारु यो विद्युतीकरणबाट वडाका सबै गाउँका सबै घरधुरीमा बिजुली पुग्ने बताउँछन् । बैंशा, नवलपुर, भगतीपुर, बेलासपुर, गगराबास, भवनीयापुर, वनघुस्री, नारायणपुर, विसुवा, खैरहनी, सिनावास, जंगपुर, शाहीपुर र बेलडाँडालगायतका गाउँ लाभान्वित हुनेछन् । पहिलो चरणमा पोल गाड्ने र दोस्रो चरणमा तार टाँग्ने काम पालिकाले गर्नेछ । तार टाँगिसक्दा प्राधिकरणको विद्युत विस्तार सेवा पुग्यो भने त्यसैलाई अवसरको रूपमा उपयोग गर्ने । तार टाँगिसक्दा पनि प्राधिकरणको विस्तारको काम नहुँदा पालिकाले जसरी पनि विद्युत सेवा दिने लक्ष्य लिएको छ ।

प्राधिकरणले समयमै काम सम्पन्न गरेको खण्डमा धामपुर स्टेशनबाट यो वडामा विद्युत विस्तार हुनेछ । वडाबाट धामपुरसम्मको दुरी मुस्किलले तीन चार किलो मिटर मात्र छ । धामपुरबाट विद्युत विस्तारमा ढिलाइ भयो भने वडा नं. १ कुसुमबाट ल्याएर भए पनि विद्युत सेवा उपलब्ध गराउने गाउँपालिकाको योजना छ । कुसुमबाट वडाको दूरी १८ देखि १९ किलोमिटर रहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत लकडाउनमा सामाजिक दूरी कायम गरेर भए पनि विकास निर्माणको काम अघि बढाउने बताउँछन् । भन्छन्, ‘टेण्डर भइसकेका कामहरू अघि बढ्छन् । बाँकी रहेका टेण्डर पनि खुल्नेछन् । विद्युत विस्तारको काम पनि हुनेछ ।’ गाउँपालिका अध्यक्ष लाहुराम थारुले ६ चैत्र ०७६ मा विद्युत विस्तारका लागि राप्ती सोनारी ३ बैंसामा पोल गाड्ने कार्यको शुभारम्भ गरेका थिए । अध्यक्ष थारुविद्युतीकरण आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँछन् । अध्यक्ष थारु भन्छन्, ‘विद्युतीकरणका लागि संघीय र प्रदेश सरकारसँग बजेट माग गछौं । कतैबाट सहयोग नभएमा गाउँपालिकाकै बजेटबाट भए पनि विद्युत सेवा दिनेछौं ।’ पालिकाले पहल गरेकोमा स्थानीय चाँडो विद्युत उपभोग गर्न पाउनेमा आशावादी छन् । साभारः समृद्ध राप्ती सोनारी

Womui
Womui