बिपी दिवसमा वृक्षारोपण

101

बाँके (नेपालगन्ज)– ३८ औ बिपी स्मृति दिवसको अवसरमा नेपालगन्जमा वृक्षारोपण गरिएको छ । तरुणदल बाँकेले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश सभासद् एवम् नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँके जिल्ला सभापति किरण कोइराला, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाहलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तरुणदल बाँकेकेले नेपाल स्वास्थ्यकर्मी संघसँग मिलेर वृक्षारोपण कार्यक्रम गरेको थियो । वृक्षारोपण कार्यक्रममा बोल्दै सभासद् हमालले बिपीको आचरणबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले सिक्नु पर्ने बताएका थिए । उनले भने, ‘ बिपीको सिद्धान्तलाई मन र मतिष्कमा राखेर मात्र हुँदैन । आफनो आचरणमा पनि परिवर्तन गर्न सक्नु पर्छ । उहाँले परिकल्पना गर्नु भएको समाजवादमा हामी लाग्नु पर्छ । उहाँको समाजवादलाई पूरा गर्न पनि नेपाली कांग्रेसले सरकारमा आफनो पकड बनाउनु पर्छ ।’

नेपालगन्ज उपमहानगरपालिकाको उदयपुरा स्वास्थ्य चौकीमा भएको कार्यक्रममा सभापति कोइरालाले आफना कमी कमजोरीलाई सुधार गर्दै पार्टीलाई बलियो बनाउन लाग्नु पर्ने बताइन् । तानाशाह समयमा पनि लोकतन्त्र बचाउन सफल बिपीको जीवनमा नेपाली कांग्रेसले सिक्नु पर्ने कोइरालाले बताइन् । उनले भनिन्,‘ उहाँको चाहना पूरा भएको छैन । जनता समृद्धशाली भएका छैनन् । पार्टीका सबै सुभेच्छुक संस्थाले सक्रिय भएर काम गरे पार्टी बलियो हुन्छ । आजको दिनले हामीलाई शक्ति प्रदान गरोस् । अहिलेको दुइतिहाइ सरकारले जनतालाई समृद्धि दिन सकेको छैन । यसले जनतालाई तहसनहस बनाएको छ । भ्रष्टाचार बढेको छ । बिपीको सोचलाई पूरा गर्नु पर्छ ।’ मंगलबार बिहानै सभापति कोइरालालगायतका नेताले नेपालगन्जको बिपी चौकमा गएर बिपीको सालिकमा माला लगाएका थिए ।

Womui
Womui