त्रिपालमा भ्रष्टाचार गर्ने उपसचिवसहित आठविरुद्ध मुद्दा

130

काठमाडौं, भदौ २१–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपाल दुरुपयोग गरेको अभियोगमा सहरी विकास मन्त्रालयका उपसचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले भूकम्पपीडितका नाममा त्रिपाल खरिद गर्दा करिब ११ करोड बराबर रकम अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो । अनियमितता गरेको आरोप लागेका सहरी विकास मन्त्री नारायण खड्का र सचिव अर्जुनबहादुर कार्कीलाई भने प्रत्यक्ष संलग्न नदेखिएको भन्दै अख्तियारले उन्मुक्ति दिएको छ ।

अख्तियारले मन्त्रीमाथि अनुसन्धान नै गरेको थिएन भने सचिव कार्कीलगायत केही कर्मचारीलाई भने विभागीय कारबाहीको सिफारिस गरेको छ । अख्तियारले मन्त्रालयका उपसचिवद्वय होमनाथ भट्टराई, रामकृष्ण गुरागाईं, नायब सुब्बा युवराज गिरी, नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक हंसराज पाण्डेय, लकी ए एस इन्टरप्राइजेजका प्रोपाइटर सुनीलकुमार गौतम, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्सका प्रोपाइटर रामशरण कुँवर, माता इन्टरप्राइजेजका प्रोपाइटर कृष्णहरि चौलागाईं र अजयशुभ ट्रेडर्सका प्रोपाइटर मोतीलाल पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।
त्रिपाल खरिद कार्यमा मन्त्रालयका सचिव कार्की, सहसचिव बासुदेव गुरागाईं, विशेष खरिद समितिका संयोजक एवं सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक शम्भु केसी तथा सदस्यद्वय सिडिई नीलमकुमार डंगोल र प्रमुख लेखा नियन्त्रक नारायण निरौलाले आफ्नो पदको दायित्वअनुसार कर्तव्य पालना नगरेको अख्तियारले जनाएको छ । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ११ बमोजिम विभागीय कारबाही गर्न निर्देशन दिइएको आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui