४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ

34

नेपालगन्ज–४५ करोड रुपैयाँ हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  सहकारीको रकम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुभाष खड्काले जानकारी दिए । उहाँका अनुसार प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी नेपालगन्जमै रहेको विशेष सुराकीका आधारमा प्रहरीले बिहान पक्राउ गरेको हो ।

उक्त रकम हिनामिना घटनामा आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कतिपय विरुद्ध मुद्दा दायर भइसकेको छ । यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् । अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख रुपैयाँ धरौटी मागिएको छ । बज्राचार्य २० लाख धरौटी बुझाएर रिहा भएका छन् । 

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराध अन्तर्गत् अभियोगपत्र दायर भएको थियो । सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । रासस

Womui
Womui