‘परिस्थिति अनुकूल रहे साउन १५ बाट राप्तीसोनारीका स्कुल खुल्ने’

273

बाँके(राप्तीसोनारी)– राप्तीसोनारी गाउँपालिकाका सामुदायिक विद्यालय साउन १५ गतेदेखि खुल्ने भएका छन् । राप्तीसोनारीमा कोरोना भाइरसका बिरामीको संख्या घट्दै गएपछि गाउँपालिकाको शिक्षा शाखाको बैठकले यस्तो निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै परिस्थित अनुकूल रहे गाउँपालिकामा रहेका सामुदायिक विद्यालय साउन १५ गतेदेखि खोल्ने छलफल भएको गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेले बताए ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कोरोना भाइरसको जोखिमबाट बच्ने उपाय सम्बन्धित विद्यालयले अपनाएर विद्यालय खोल्न दिने निर्णय भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । अध्यक्ष थारुका अनुसार सामाजिक दूरी कायम गर्दै विद्यार्थीलाई सिफ्टका आधारमा पढाइने छ । कोरोनाको जोखिमबाट बच्दै कसरी अध्यापन सुचारु गर्ने भन्ने विषयमा विद्यालयले नै व्यवस्थापन गर्ने छ ।

राप्तीसोनारीका सामुदायिक विद्यालयलाई कसरी संचालन गर्ने भन्ने विषयमा आइतबार गाउँपालिकामा बसेको बैठमा सामुदायिक विद्यालयका प्राधानाध्यापक, सम्बन्धित वडा अध्यक्ष राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

Womui
Womui