बोधिचित्त लुटेरा र स्थानीयबीच झडप हुँदा गोली चल्यो, बम राखेर प्रहरीलाई रोक्ने प्रयास

128

काठमाडौँ– गएराति काभ्रेमा बोधिचित्त लुट्न आएका र स्थानीयबीच झडप हुँदा गोली चलेको छ । झडपमा ५ जना स्थानीय घाइते भएका छन् भने लुटेराले बाटोमा बम राखेर प्रहरीलाई रोक्ने प्रयास गरेका छन् । हतियारधारी लुटेराले प्रहरीलाई बाटोमा बम तथा ढुडा तेस्र्याएर अवरोध गरेको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए। बम नेपाली सेनाले निष्कृय पारेको छ। घटनास्थलमा पेस्तोलको गोलीको एक खोका भेटिएको थियो ।

बोधिचित्त लुट्न आएका र स्थानीयबीच झडप भएको सूचना पाएपछि त्यहाँ प्रहरी पुगेको थियो । हतियार लिएर बोधिचित्त लुट्न गएका लुटेरा र प्रहरीको रोशी गाउँपालिका–५, सिपालीमा जम्काभेट भएको थियो । प्रहरीले लुटेर समूहलाई लक्षित गरी गोली चलाएको थियो । गाउँलेले प्रतिकार गर्न खोज्दा आक्रमण गरेको बताइएको छ । प्रहरी पुगेपछि हतियारधारी समूह भागेको प्रहरीले जनाएको छ । भागेको समूहलाई लक्षित गरी प्रहरीले गोली चलाएको हो । घटनामा संलग्नको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui