निजी प्रयोगशालामा कोरोना परीक्षण अलमलमा

124

काठमाडौं– निजी प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने निर्णय कार्यान्वयनमा अलमल देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङका क्रममा निजी प्रयोगशालामा परीक्षण गर्ने र त्यसको रकम सरकारले व्यहोर्ने जानकारी दिएको थियो । तर मन्त्रालयले अहिलेसम्म निजी प्रयोगशालामा कोरोना परीक्षण सम्बन्धी निर्देशिका बनाएको छैन । निजी प्रयोगशालाहरुले समेत परीक्षणबारे मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कुनै खबर नआएको बताएका छन् ।

१९ वटा निजी प्रयोगशालाले कोभिड–१९ परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा निवेदन दिएका थिए । त्यसमध्ये ९ प्रयोगशालाले छिट्टै र ४ प्रयोगशालाले तत्काल परीक्षण गर्न सक्ने रिपोर्ट प्रयोगशालाले मन्त्रालयमा बुझाएको छ । त्यसअनुसार निजी प्रयोगशालामा टेष्ट गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयले कति प्रयोगशालालाई कुन मापदण्ड अनुसार परीक्षण गर्न दिने भन्ने बताएको छैन । यसले अन्यौल बढाएको पीसीआर टेष्टका लागि आवेदन दिएका प्रयोगशालामध्ये एक सीएमडीएनका प्रमुख डा. समिरमणि दीक्षित बताउँछन् । निजी प्रयोगशालामा पनि परीक्षण गर्ने निर्णय भयो भनेर आफूले सञ्चार माध्यमबाट थाहा पाएपछि कुनै खबर नआएको भन्दै उनले भने, ‘टेष्टको मोडालिटी के हुने भन्ने थाहा छैन ।’

निश्चित रकम लिएर निजी प्रयोगशालाले आफैं परीक्षण गर्न दिनुपर्ने निजी प्रयोगशालाहरुको माग भएको डाक्टर दिक्षित बताउँछन् । यसो गर्दा रकम तिरेर गर्न सक्नेले आफै र नसक्नेलाई सरकारले निःशुल्क गराउँदा हुने उनको कथन छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाको निर्देशक डाक्टर रुना झाले भने स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गरेपछि मात्र निजी प्रयोगशालामा परीक्षणबारे भन्न सकिने बताइन् ।

उनकाअनुसार प्रयोगशालाले ५ देखि ६ हजारमा पीसीआर टेष्ट गर्न दिन उपयुक्त हुने राय मन्त्रालयलाई दिएको छ । र, यो रकममा टेष्ट हुने उनको दाबी छ । २०० भन्दा बढी नमुना परीक्षण गर्न पाउँदा यो रेटले निजी प्रयोगशालालाई फाइदा हुने भन्दै उनले भनिन्, ‘एकाध स्याम्पल मात्र जाँच गर्दा पो घाटा हन्छ त ।’ मन्त्रालयका प्रवक्ता डा. गौतम सरकारले निजी प्रयोगशाला मात्र प्रयोग गर्न लागेको बताउँछन् ।

संकलन गरिएका नमुनाहरु निजी प्रयोगशालामा पठाउने र टेष्ट गरे वापतको रकम सरकारले तिर्ने मन्त्रालयको सोच छ । ‘हामीले ल्याव मात्रै निजीको प्रयोग गर्न लागेको हो । खर्च सरकारले नै बेहोर्छ । कसैमा भ्रम नहोस्,’ उनले भने । साथै व्यक्तिगत पीसीआर जाँचको जिम्मा मन्त्रालयले सरकारी प्रयोगशालालाई दिइसकेको छ । भिसा र निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन, वीर र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा ५ हजार ५०० रुपैयाँ तिरेर परीक्षण गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता डा. गौतमले बताए । अनलाइन खबरबाट

Womui
Womui