सपनामा देखेको अनौठो देशको भ्रमण

मोहन खनाल ।

आजकाल बन्दाबन्दीको कारण नचाहेर पनि दिउँसो सुत्ने बानीको विकास भएको छ । मिति २०७७/०२/२१ गते करिब १० बजेतिर खाना खाएर कोठामा गएर यसो पल्टिएर टिभी हेर्दाहेर्दै मीठो निद्रा लागेछ । अनि भुसुक्क निदाइ सकेपछि सपनामै मेरो अनौठो देशको भ्रमण भयो। मलाई एकजना अपरिचित मित्र आएर आफ्नो देशमा लिएर गयो । म असाध्यै रोमान्टिक मुड्मा उसको पछी पछी लागेर गए । त्यो देशको भ्रमण गर्दै गर्दा उसले मलाई आफ्नो देशको परिचय गरायो। मान्छेहरु समेत असाध्यै परिश्रमी, गाउँ पनि जति घुम्यो झन् झन् राम्रो, म चारैतिरको दृश्य अवलोकन गर्नमा मस्त थिए । लाग्दै थियो म स्वर्गमा छु। उसले मलाई आफ्नो देशको कृषि मन्त्रालयको समेत भ्रमण गरायो । म त छक्क परे कृषि मन्त्री त विज्ञसमेत । ठूलो कृषि फर्ममा हातमा बेल्चा जस्तो देखिने औजार लिएर खेतबारीमा व्यस्त रहेछन् । मैले त ठम्याउनै सकिन धुलोमैलोमा यसरी अनुसन्धान गर्दै गरेका मन्त्री नै हुन् त ? मेरो मित्रले मलाई परिचय गराए । मन्त्रीज्यूले भन्नु भयो,‘हाम्रो देशमा ३००० वटा कृषिका ठूला फर्महरु छन् ।’ कृषि वैज्ञानिकहरु अनुसन्धान गर्न कृषकका फार्म तथा खेतबारीमा ब्यस्त हुने रहेछन् । माटोको अवस्था ,रोग किराको प्रकोप बढ्न नदिन देशकै जडीबुटीबाट नियन्त्रण गर्ने संरचनाको विकास गरिएको रहेछ । त्यति मात्र होइन त्यहाँ ठूल्ठूला ताजा मासु उत्पादनको लागि बाख्रा , कुखुरा, भेडा तथा अन्य पशुपन्छी फार्महरु रहेछन् । त्यस्तै दूध उत्पादनको लागि भैंसी, गाई फार्म व्यापक मात्रामा खोलिएको रहेछ । कृषि उत्पादनमा त्यो देश पूर्णरुपमा आत्मनिर्भर रहेछ । सूचना प्रविधिको यति धेरै उपयोग गरिएको रहेछ कि प्रत्येक व्यक्तिले के पेशा गर्छ, जग्गा जमिन कति छ, पारिवारिक अवस्था कस्तो छ सम्पूर्ण विवरण एकद्वार प्रणालीबाट हेर्न मिल्ने सिस्टमको विकास गरिएको रहेछ । कृषिमा आधारित ठूलाठूला उद्योगहरु रहेछन्। प्रधानमन्त्रीदेखि सम्पूर्ण मन्त्री तथा स्थानीय सरकारका प्रतिनिधिहरुको दैनिक क्रियाकलाप सबैले हेर्न मिल्ने र गर्व गर्न लायक सिस्टम को विकास गरिएको रहेछ । कोही पनि बेरोजगार भै सडकमा भौँतारी रहेको देख्नै पाइनँ ।

म ऊसँग अनौठो खालको सार्वजनिक गाडीमा चढेर जाँदै गर्दा १ जना पनि सिट भन्दा बढी मान्छे देख्नै पाइनँ । अपांग, महिला, वृद्धअवस्थाका व्यक्ति तथा साना बालबालिकाहरुको सिट आरक्षणको व्यवस्था गरिएको रहेछ । सडक सफा हरियाली फोहोरमैलायुक्त थिए । बजारमा भिडभाड रहित स्वस्थ देखिन्थ्यो। हामी स्थानीय सरकारको कार्यलयमा पुग्यौं । उसको जग्गा पास गर्ने काम रहेछ । सुरुमा राजस्व तिरेको बैंक भौचरसमेत राखेर साइबरमा गएर दुबैले कम्प्युटरबाट दस्तखत गरी मेल गरी पठाए तुरुन्तै एउटा नम्बर आयो अनि हामी फर्कियौं । मैले उत्सुकतापूर्वक सोधेँ खै त जग्गा पास भएको उसले भन्यो भैसक्यो। अब पूर्जा ग्राम कार्यलयमार्फत घरमै आइपुग्छ । म त छक्क परेँ ।

उसले मलाई गाडी चालक लाइसेन्सको लागि जानुछ जाउँ भन्यो म सडकमा उसको पछी पछी गए । उसले लाइसेन्सको लागि आफ्नो बाइक लिएको थियो। उसको पछाडि एउटा ट्राफिक प्रहरी जस्तै ब्यक्ति बस्यो । साथीले बाइक चलायो । हेर्ने १ जना कर्मचारी थियो। उस्ले सान्दार तरिकाले बाइक चलायो। तुरुन्तै राजस्व लिएर उसको हातमा लाइसेन्स प्राप्त गर्‍यो । कुनै झन्झटबिना उसको हातमा लाइसेन्स प्राप्त भयो। न उसले घुस दियो न कुनै सोर्स लगायो । कस्तो सुन्दर देशको सुन्दर व्यवहारिक कानुन ! त्यसपछि उसले मलाई उसका बच्चाबच्चीहरु पढ्ने विद्यालयमा लियो । हामी अनुमति लिएर विद्यालयभित्र प्रवेश गर्‍यौं । सर्वप्रथम विद्यार्थीहरुलाई त्यो देशको कल्चर बारेमा सिकाइँदो रहेछ । विद्यार्थीहरु उत्सुकतापूर्वक आफ्नो देशको कल्चर प्रयोगात्मक रुपमा ब्यवहारत अध्यनमा ब्यस्त थिए । ८/१० हजार विद्यार्थीसँगै अध्ययन गर्न मिल्ने संरचनाको विकास गरिएको रहेछ । विद्यार्थीहरुले देशको आवश्यकता अनुसारको प्राविधिक शिक्षा अध्ययन गर्ने व्यवस्था मिलाइएको रहेछ। अभिभावकहरुलाई छोराछोरीहरुको शिक्षा कसरी दिलाउने, फि कसरी तिर्ने, पढेकी पढेनन् जस्ता कुनै तनाव हुँदा रहेनछ । शिक्षाको सम्पूर्ण दायित्व सरकारले लिने व्यवस्था गरिएको रहेछ । शिक्षकहरुले डिउटी फुल भै विद्यार्थीहरुलाई सिकाइमा सहजीकरण गरिरहेको देखिन्थ्यो । विद्यालय साँचो अर्थमा सिकाइ गृह देखिन्थ्यो । कृषि, विज्ञान, वन ,जडीबुटी तथा कम्प्यूटर प्रयोगशालामा विद्यार्थीहरु सिकिरहेका देखिन्थे । विद्यालय त्यस देशको मेरुदण्ड नै हो कि भन्ने भान भैरहेको हुन्थ्यो। विद्यालय अत्यन्तै सफा र विद्यार्थीहरु निक्कै सफा सुग्घर देखिन्थे । मेरो साथी र म केही समयको अवलोकनपछि फर्की हाल्यौं । त्यसपछि हामी त्यो देशको अस्पतालमा घुम्दै पुग्यौं । कुनै पनि मानिस बिरामी भएमा सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था रहेछ । हामी अस्पताल पुग्दा बिरामीहरुलाई निशुल्क रुपमा उपचारमा डाक्टरहरु खटिएका देखिन्थ्यो । बिरामीहरु रोगी भएर पनि खुशी जस्ता देखिएको भान हुन्थ्यो । अस्पतालहरु चाहे प्रधानमन्त्री बिरामी होस् चाहे गरिब जनता बिरामी हुन सबैलाई समान ढंगले उपचार गराउने व्यवस्था गरिएको रहेछ । फ़ोहोर जसले गरे पनि निश्चित तोकिएको ठाउँमा बिसर्जन गर्ने असाध्यै प्रभावकारी व्यवस्था गरिएको रहेछ । सबै जनताहरुमा समान ढंगले राज्यको पहुँच हुने व्यवस्था गरिएको रहेछ। जात, धर्म, पेशा, लिङ्ग तथा कुनै पनि आधारमा भेदभावरहित समाज रहेछ। त्यस देशका अटुट बग्ने नदीबाट जलविद्युत, सिँचाइ, खानेपानीको पर्याप्त मात्रामा विकास गरिएको रहेछ । वनजंगलबाट पर्याप्त मात्रामा काठ उत्पादन गरी काठमा समेत आत्मनिर्भर रहेछ । त्यो देश जडीबुटीका हिसाबले पनि समृद्ध रहेछ । देशमा उत्पादित बहुमूल्य जडीबुटीहरु देशमै प्रसोधन गरिँदो रहेछ । मेरो साथीले मलाई गर्भ साथ भन्यो । मेरो देशमा कृषक, शिक्षक, विद्यार्थी र सम्पूर्ण तह तप्काका कर्मचारीहरु तथा सार्वजनिक पद धारण गरेका स्थानीयदेखि केन्द्रीय सरकार संचालनको जिम्मेवारी पाएका सबै जिम्मेवार छन् । त्यसकारण मेरो देश समृद्ध छ । मैले ऊसँग उत्सुकतापूर्वक सोधे मित्र तपाईको देशमा भ्रष्टाचार हुँदैन । उसले भन्यो पहिले हुन्थ्यो रे अहिले बिल्कुलै हुँदैन भनेर मलाइ एउटा ठूलो करिब ४/५ बिघामा बनाइएको घरभित्र लियो । त्यहाँ हजारौं मान्छेहरु झुन्ड्याइएको थियो । मैले सोधेँ मित्र के हो यो ? उसले भन्यो यिनै भ्रष्टाचारी जुकाहरुले मेरो देश चुसिरहेका थिए । अहिले उनीहरुलाई मृत्यु दन्ड दिइएको छ । मैले करिब १००० जना जति गन्न भ्याएँ । त्यो त १ छेवै पुगेन त्यहाँ करिब १ लाख जना जति भ्रष्टाचारीलाई झुन्ड्याइएको रहेछ । उसले मलाई अन्य धेरै ठाँउहरुमा घुमाउने योजना सुनायो । मैले हुन्छ भनेको थिए । अकस्मात् मेरो कान मा बुवा, बुवा भनेर ठूलो आवाज गुन्जियो । म झल्यास्स ब्यूझिएँ । मेरो शरीर थर थर कापी रहेको थियो । छोरीले उठ्नुहोस्, तपाईंको फोनको घण्टी बजिरहेको छ भनिन् । मलाई फोन गर्ने मान्छेसँग साह्रै रिस उठ्यो । त्यो साथी कहाँ गयो होला ? फेरि त्योसँग भेट होला कि नहोला यस्तै यस्तै सोच्न थालेँ । उठेर मुख धोएँ । पसिना चिडचिड आयो । हल्का टाउको दुख्यो । चक्कर आउला जस्तो भयो ।

लेखक नेपाल शिक्षक महासंघ राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तथा जनशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

प्रतिक्रिया दिनुहोस्