‘स्वास्थ्य सम्बन्धी सेवा अब वडाबाटै,’ गाउँपालिका अध्यक्ष थारु

102
स्वास्थ्य चौकी उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारु, वडा नम्बर ६ का वडाध्यक्ष जनकबहादुर थारुलगायत ।

बाँके (राप्ती सोनारी) –

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा स्वास्थ्य चौकी स्थापना गरिएको छ । वडाको आन्तरिक आयबाट स्वास्थ्य चौकी स्थापना गरिएको हो ।

बुधबार गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले स्वास्थ्य चौकी उद्घघाटन गर्दै एक वडा एक स्वास्थ्य  चौकीको सरकारी नीति भए पनि राप्तीसोनारी ६ मा कारणवश स्वास्थ्य चौकी बनाउन नसिकएको बताए । अध्यक्ष थारुका अनुसार प्रदेश र केन्द्र सरकारबाट सहयोग नआएपछि स्वास्थ्य चौकी बनाउन सकिएको थिएन । तर, वडा नम्बर ६ ले आन्तरिक आयबाट स्थापना गरेको स्वास्थ्य चौकी तारिखयोग्य काम भएको बताए ।  अध्यक्ष थारुले भने,‘ यसअघि ६ नम्बर वडाका स्थानीयले वडा नम्बर ७ फत्तेपुरमा रहेको स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका थिए । स्वास्थ्य चौकी स्थापनापछि स्थानीयले स्वास्थ्य सम्बन्धी समस्या आए अब वडाबाटै सेवा पाउने छन् ।’ गाउँपालिका अध्यक्ष थारुका अनुसार स्वास्थ्य चौकीमा सिनियर हेल्थ असिस्टेन्ट, हेल्थ असिस्टेन्ट, अनमीलगायत चारजना स्वास्थ्यकर्मीको दरबन्दी रहने छ ।

वडा नम्बर ६ का वडाध्यक्ष जनकबहादुर थारुले कोरोना भाइरसको कहर विश्वभर फैलिरहेको बेला स्थानीयले सामान्य स्वास्थ्य सेवाका लागि अन्यत्र जानु नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य चौकी स्थापना गरिएको बताए । उनका अनुसार स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा दिन आफू लागि पर्ने बताए । गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुँडाली, वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुलगायत स्थानीयको उपस्थितिमा ६ नम्बरका वडाध्यक्ष जनकबहादुर थारुको अध्यक्षतामा स्वास्थ्य चौकी उद्घाटन गरिएको हो ।

Womui
Womui