राप्तीसोनारीको क्वारेन्टाइनबाट ४६ जनाको स्वाब संकलन

142

बाँके(फत्तेपुर), जेठ ८–
भारतबाट फर्केर राप्तीसोनारी गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेका ब्यक्तीको कोरोना परिक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ । छिमेकी गाउँपालिका नरैनापुरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय सर्रीमा बसिरहेका ब्यक्ती, जनप्रतिनिधी र प्रहरी समेत गरी ४६ जनाको बिहीबार स्वाब संकलन गरिएको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुले भारतबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सहित ४६ जनाको स्वाब संकलन भएको जानकारी दिए ।

कोरोना भाइरसको जोखिममा रहेका कारण वडाअध्यक्ष थारु पाँच दिनदेखी क्वारेन्टाइनमा बस्दै आएका छन् । उनीसहित नेपाल प्रहरीका सहायक निरीक्षकको पनि स्वाब संकलन गरिएको छ । नेरा माध्यामिक बिद्यालय सर्रीको क्वारेन्टाइनमा बिहीबार बेलुकासम्मको तथ्यांक अनुसार कुल ७३ जना बसिरहेका छन् । बाँकी ब्यक्तिको क्वारेन्टाइन बसाई पाँचदिन पुगेपछि स्वाब संकलन गरिने वडअध्यक्ष थारुले बताए । ‘भारतबाट फर्किने क्रम जारी छ, अझै हाम्रो वडाका मानिसहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका छन्,’ उनले भने ‘नरैनापुरमा कोरोना संक्रमण फैलिएपछि हाम्रो वडाका जनता त्रसित भइरहेका छन् ।’ नरैनापुरमा केहीदिन अघि भारतको मुम्बईबाट फर्केका २४ बर्षिय युवकको मृत्यु भएको थियो । युवकसँगै गत बैशाख ३० गते नेपाल प्रवेश गरेका ब्यक्ती राप्तीसोनारीको क्वारेन्टाइनमा पनि रहेकाले जोखिम बढेको हो ।

भारतबाट संक्रमित युवकसँगै प्रवेश भएर आएकाले राप्तीसोनारीको क्वारेन्टाइनमा बसेका ब्यक्तीको पनि स्वाब परिक्षण गर्न जरुरी भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । नरैनापुरमा कोरोना संक्रमण फैलिएपछि राप्तीसोनारी गाउँपालिकाको विभिन्न नाकामा उच्च सर्तकता अपनाइएको उनको भनाई छ । ‘छिमेकी गाउँपालिका नरैनापुरमा धेरै ब्यक्तीमा कोरोना संक्रमण देखा परिसकेपछि हाम्रो गाउँपालिका पनि उच्च जोखिममा छ,’ उनले भने ‘नरैनापुरसँग जोडिएका वडा र नाकामा विशेष निगरानी बढाएका छौं ।’

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वाब संकलन कार्यलाई जोड दिने बताए । ‘भारतबाट फर्केर आएका ब्यक्तीको स्वाब संकलन गरेर कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले कुनै कसर बाँकी राख्दैन,’ उनले भने । राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद चुडालीले भारतबाट फर्केका ब्यक्तीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य परिक्षण गरिने बताएको गाउँपालिकाका प्रेस सल्लाहकार अर्जुन ओलीले जानकारी दिएका छन् ।

Womui
Womui