नेपालगन्जमा २५ गतेसम्म निषेधाज्ञा क्षेत्र घोषणा

192

छिनछिन खबर
नेपालगन्ज, वैशाख २२–

नेपालगन्ज मंगलबारदेखि निषेधाज्ञा क्षेत्र घोषणा भएको छ । पछिल्लो समय लगातार कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि २३ गते बिहान ११ बजेदेखि लागू हुने गरी २५ गतेसम्मका लागि नेपालगन्जलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको हो ।

संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकालाई २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय बन्द रहने छन् । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगन्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । उनी नेपालगन्जका पहिलो संक्रमित व्यक्ति हुन् । उनको सम्पर्क आएका ९० जनाको स्वाब संकलन गरेर ६० जनाको परीक्षण गर्दा एउटै टोलका १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार संकलन गरिएका स्वाबमध्ये ३० जनाको रिपोर्ट आउन बाँकी छ ।

Womui
Womui