राप्तीसोनारी वडा नम्बर ८ मा लकडाउन प्रभावकारी बनाउने निर्णय

26

बाँके(राप्तीसोनारी), बैशाख २२-
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन र लकडाउन प्रभावितलाई राहत वितरण सम्बन्धी महत्वपुर्ण निर्णय गरेको छ । वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । उक्त बैठकले पुर्वपश्चिम राजमार्ग बाहेक अन्य क्षेत्रमा वडाबासी बाहेक बाहिरका ब्यक्तिलाई प्रवेशमा निषेध गर्ने, टिपर, ट्याक्टरका सवारी चालक, सहचालक तथा साधनलाई यस वडामा बस्न र पार्किङ गर्न नदिने, अत्यावश्यक काम बाहेक मोटर साईकल चलाउन नपाउने र यदी अत्यावश्यक कामले चलाउनु परेमा ढकेरी प्रहरी चौकीलाई पुर्व जानकारी गराएर मात्र अनुमति दिने, जानकारी नदिएर चलाएमा त्यस्ता सवारी साधन नियन्त्रणमा लिने निर्णय गरेको छ ।

यस्तै सामाजिक दुरी कायम गरी स्यानिटाइजर, मास्क र पञ्चा प्रयोग गरी वडा नम्बर ८ भित्र रहेका खाद्यान्न मिललाई सञ्चालन गर्न दिने, गाउँपालिकाले विकास निर्माणका योजना तथा कामलाई सुचारु गर्ने भनेतापनि तत्कालको विषम परिस्थितीका कारण सो कार्य नगर्न, नगराउन गाउँपालिकालाई अनुरोध गर्ने लगायत निर्णय गरेको छ । यसैगरी राहत वितरणलाई निरन्तरता दिने क्रममा चुलो बल्न नसक्ने घरमा मात्र दोस्रो चरणको राहत वितरण गर्ने, पहिले नै तथ्यांक संकलन गरिएका निवेदन मध्ये समितिले छानविन गरेर मात्र वितरण गर्ने, निवेदक बाहेक अन्य ब्यक्तिहरु पनि भएमा त्यस्ता ब्यक्तिलाई राहत वितरण गर्ने सर्वसम्मत निर्णय पनि भएको वडाअध्यक्ष बस्नेतले बताए । उक्त बैठकमा वडासदस्यहरु लेखराम थारु, बिरमान खड्का, नैनीकुमारी खत्री, तारादेबी बिक, ढकेरी प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक कुमार केसी, राप्तीसोनारी उद्योग ब्यापार संघका अध्यक्ष टिकाराम ढुंगाना लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui