निःशुल्क भण्डारा चलाउँदै नेपालगन्ज उपमहानगरपालिका

285

नेपालगन्ज, चैत २९-
नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्र भन्दा बाहिरबाट आएर बसोबास गरिरहेका गरिव तथा विपन्न ब्यक्तिका लागि लक्षित गरि निःशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिका कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका नेपालगन्जमा भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर, बिद्यार्थी लगायत अन्य विपन्न परिवारलाई दैनिक रुपमा साँझ बिहान गरि दुई पटक निःशुल्क खाना खुवाउनका लागि नगरका ५ स्थानमा भण्डारा सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपालगन्जको हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिर पार्क, रामलिला मैदान, आदर्श माध्यामिक बिद्यालय राँझा र शिक्षण अस्पताल पछाडीको आँप बगियामा निःशुल्क भण्डारा सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । भण्डारा सञ्चालन गर्न अनूगमन तथा सहजिकरणका लागि नगर प्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा उपप्रमुख उमा थापामगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुव सिद्धिकी, वडा नम्बर ७ का वडा अध्यक्ष जुम्मन खाँ, वडा नम्बर ९ का वडा अध्यक्ष विष्णु लामा, वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धीसागर सुबेदी, वडा नम्बर १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्र, कार्यपालिका सदस्य मञ्जु नेपाली र सिमा कशौधन सदस्य रहेको एक समिति गठन गरिएको पनि रिजालले जानकारी दिए ।

नगरप्रमुख राणाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका ब्यक्ति र बिद्यार्थीका सञ्चालन गर्न लागिएको भण्डारामा सरसफाईसँगै भिडभाड हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिएको बताए । आइतबार आन्तरिक ब्यवस्थापन गरेर सोमबारबाट भण्डारा सञ्चालन गर्ने उप–महानगरपालिकाको तयारी छ । नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका विपन्न समुदायको पहिचान गरि वडा कार्यालय मार्फत राहत वितरण गरेको छ । उक्त बैठकले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट उपमहानगरपालिकाका जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा राहत स्वरुप १५ लाख रुपैयाँ परिवारलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

Womui
Womui