लकडाउनको प्रभाव : दाना खान नपाउँदा धमाधम मर्दै कुखुरा

266

अर्जुन ओली,

नेपालगन्ज, चैत २९-

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर २ पहाडीपुरका दीपक गुरुङ अहिले निकै तनावमा छन्। करोडौंको लगानीमा उनले सञ्चालन गरेको फर्मका कुखुरा दाना खान नपाएर धमाधम मरिरहेका छन्, भने अर्कोतिर किस्ता बुझाउन बैंकबाट दिनहुँजसो फोन आइरहेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण दाना ल्याउन नपाउँदा कुखुरा मरेका हुन्। ‘दाना खान नपाएपछि कुखुरा मरिरहेका छन्, बैंकले पनि यहीबेलामा किस्ता बुझाउन धेरै ताकेता गरिरहेको छ,’ गुरुङले  टेलिफोनमा भने ‘मेरो त होस् नै उडिसकेको छ।’

काठमाडौं मैतीदेवीका स्थायी बासिन्दा गुरुङ कृषि पेशामै रमाउने सोचका साथ करिब डेढ वर्षअघि बैजनाथको पहाडीपुर आएका थिए। बैदेशिक रोजगार व्यवसाय त्यागेर बाँके आएका उनले दुई करोड २५ लाख रुपैयाँको लगानीमा कुखुरा फर्म खोले। लक्ष्यदीप पशु पालन फर्म दर्ता गरेर अण्डा उत्पादनका लागि गुरुङले ‘लेयर्स’ जातका ४ हजार ७ सय ५० वटा कुखुरा हुर्काइरहेका थिए। लकडाउनका कारण नियमित रुपमा दाना खान नपाउँदा अहिले कुखुरा धमाधम मरिरहेको उनले सुनाए।

दाना खान नपाएपछि फर्मभित्र मरेका कुखुरा ।

लकडाउन भएपछि मर्न सुरु गरेका कुखुरा अहिलेसम्म करिब डेढ सय जति बचेको बताए। ‘दैनिक रुपमा ६ देखि ७ सयको दरले कुखुरा मरे, एक दिन त १२ सय वटा कुखुरा मरेपछि म बेहोस नै भएँ,’ गुरुङले भने ‘अहिले त कुखुरा फर्म रित्तो भइसकेको छ, फर्मतिर जाँदा रुन मात्रै मन लाग्छ।’ करिब ७ महिनादेखि पालेका यी कुखुरा र दानामा मात्र आफ्नो झण्डै ७० लाख रुपैयाँ लगानी लागेको सुनाए। उनको फर्ममा कुखुराका लागि उनले दैनिक पाँच क्वीन्टल दाना खपत हुन्थ्यो, भने कुखुराले दैनिक १८ देखि २० पेटी अण्डा उत्पादन गथ्र्ये। सरकारले कृषिका नाममा अनुदान बाँडेपनि आफूले कहिल्यै नपाएको उनको गुनासो छ। ‘मैले अहिलेसम्म राज्यबाट कुनै सहयोग वा अनुदान पाएको छैन, हाम्रा लागि राज्य नै छैन, राज्यको सहयोग बिना कृषि पेशा गर्नै गाह्रो छ,’ उनले थपे।

कुखुरा पालन गर्न काठमाडौंको मैतीदेवीमा रहेको आफ्नो घर बैंकमा धितो राखेर ल्याएको डेढ करोड ऋणको भारी छ। यस्तै साना किसान र विभिन्न ब्यक्तिबाट महंगो ब्याजमा ल्याएको अरु ७५ लाख ऋणले पनि थिचिरहेको छ। ‘काठमाडौंको घर धितोमा राखेर १४ प्रतिशत ब्याजमा डेढ करोड ऋण ल्याएको छु, त्यो तिर्न सकिरहेको छैन, साना किसान र ब्यक्तिबाट गरेर ७५ लाख ऋण पनि त्यसै छ,’ उनले भने ‘त्यत्रो लगानी गरेर पालेका कुखुरा मरेर सक्किए, उता बैंकले किस्ता तिर्न ताकेता गरिरहेको छ, तनावमा छु।’

बैंकले घर लिलाम गर्न तीन पटकसम्म पत्रिकामा सूचना प्रकाशित गरिसकेको गुरुङले सुनाए। उनले ओडी गराए वापत उक्त बैंकलाई तीन महिनाको किस्ता साढे ४ लाख तिर्नु परेको बताए। राष्ट्रिय वाणिज्य बैंक लगायत अन्य कुनैपनि बैंकले कृषि ऋण नदिँदा घर धितोमा राखेर महंगो ब्याज तिर्न बाध्य भएको उनी बताउँछन्। पछिल्लो समयमा बंगलादेश बंैकले ५ देखि ६ प्रतिशत ब्याज लाग्ने गरी १ करोड ५५ लाख रुपैयाँ ऋण स्वीकृत गरेपनि लकडाउनका कारण मालपोत लगायत सबै निकाय बन्द हुँदा अधुरै भएको बताए।

आफ्नो फर्ममा गुरुङले ७ जनालाई रोजगारी दिएका थिए। साथै श्रीमती र आफू पनि स्वरोजगार बनेका थिए। कुखुरा मरेपछि गुरुङले आफूलाई सम्हाल्नै सकेका छैनन्। कहिले रुन्छन्, भने कहिले बेहोस हुन्छन्। उक्त फर्म पुनः सञ्चालन गर्नेबारे गुरुङ दम्पत्ती अन्यौलमा छन्। तरपनि उनीहरुले हरेस भने खाएका छैनन्। ‘यति ठूलो क्षति भएपनि हरेस खाएको छैन, कृषिमै फर्किन्छु,’ उनले भने ‘भारतमा जस्तो नेपाल सरकारले किसानलाई अनुदान दिनुपर्छ, किसानलाई नगद होईन, सामाग्री र ब्याजमा अनुदान दिने व्यवस्था ल्याउनुपर्छ ।’

-नागरिकन्युजबाट 

Womui
Womui